मेचीनगर ।

 मेचीनगर नगरपालिका–८ नम्बर वडा कार्यालयले सञ्चालन गरेको १५ ्रदिने निःशुल्क स्वास्थ्य शिविरमा ९ सय २७ जनाले सेवा लिएका छन् ।

वडा नम्बर ८ ले चैत १३ देखि २९ गतेसम्म सञ्चालन गरेको स्वास्थ्य शिविरमा उक्त संख्याका विरामीहरुले स्वास्थ्य जाँच गराएका हुन् । शिविरमा सबै रोगका विरामीको स्वास्थ्य परीक्षण र ल्याब टेष्ट समेत गरी निःशुल्क औषधि वितरण समेत गरिएको वडाध्यक्ष गिरिराज धमलाले बताए ।

उनले गरिवी तथा घरायसी कारण सुविधा सम्पन्न अस्पतालमा उपचार गराउनका लागि जान असमर्थ समुदायलाई लक्षित गरी वडा कार्यालयले बृहत् निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको बताए । वडा कार्यालयले धरान स्थित विपी कोइराला विज्ञान प्रतिष्ठानसँग सहकार्य गरेर स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

शिविरमा निःशुल्क औषधि वितरण, ल्याब सेवा, पिसाब, सुगर तथा प्रेसर जाँच, ईसिजी, इको, लगायतका सेवा प्रदान गरिएको थियो । विपीका ल्याव टेक्निसियन मोजेश चौधरीका अनुसार शिविरमा ९२७ जनाको जाँच गरेका मध्ये ४२३ जनामा मुटु, मिर्गौला, सुगर, प्रेसर लगायतका रोगबाट पीडित रहेको बताए । अन्य ११४ जना विरामी जोखिममा रहेको उनले बताए ।