भद्रपुर ।
सीमान्तकृत सन्थाल समुदायको बाक्लो बसोबास रहेको झापाको भद्रपुर नगरपालिकाले नगरभित्रका ६ सय बढी सन्थाल परिवारको स्वास्थ्य विमा गरिदिएको छ ।
विपन्न समुदायमा पर्ने सन्थाल समुदायको स्वास्थ्यमा सहज पहुँच पुर्याउने उद्देश्यले आगामी जेठदेखि लागु हुने गरी नगर प्रमुखसँग स्वास्थ्य विमा कार्यक्रमअन्तर्गत नगरपालिकाले यस वर्ष ६३४ परिवारको स्वास्थ्य विमा गरिदिएको नगरप्रमुख गणेश पोखरेलले बताए । यसबाट सो समुदायका २५२२ जना लाभान्वित हुनेछन् ।
सन्थाल समुदायलाई स्वास्थ्य विमा गरिदिएको विमा भुक्तानी वापतको रकमबराबरको चेक आज नगरपालिकाको सभाहलमा आयोजित एक संक्षिप्त कार्यक्रमका बीच नगरप्रमुख पोखरेल, उपप्रमुख राधा कार्की, प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मी, वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरुले स्वास्थ्य विमा बोर्ड सम्पर्क कार्यालय झापाकी प्रमुख सुनिता आचार्यलाई संयुक्तरुपमा हस्तान्तरण गरे । सन्थाल समुदायको स्वास्थ्य विमाका लागि नगरपालिकाले २२ लाख १९ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।
कार्यक्रममा सन्थाल आदिवासी उत्थान संघका केन्द्रीय अध्यक्ष सुन्दर वेस्रा, केन्द्रीय सचिव कुन्दन मुर्मु, झापा जिल्ला अध्यक्ष लखन हेमरमलगायत सो समुदायका अगुवा व्यक्तित्वहरुको उपस्थिति थियो ।