बिर्तामोड।
झापाको बिर्तामोड–२ स्थित चारपानेमा भोलि चैत २१ गते हुने सहारा हाफ म्याराथनको सम्पूर्ण तयारी पूरा भएको छ । आयोजक सहारा नेपाल साकोस अतिरिक्त क्रियाकलाप उपसमिति संयोजक एवम् झापा जिल्ला खेलकुद विकास समिति अध्यक्ष प्रशान्त भण्डारीका अनुसार खुला महिला तथा पुरुष हाफ म्यारथनमा पाँच सय धावकको सहभागिता रहनेछ ।
आयोजकले प्रस्थान विन्दुमा गेट निर्माण गरिसकेको छ भने ट्र्याक निर्माण गरेर दौडने बाटो नापिसकेको जनाएको छ ।त्यस्तै, प्रतियोगिताका लागि ५० जना प्राविधिक स्वयमसेवक तयारी अवस्थामा रहेको प्रमुख निर्णायक लोकप्रसाद ओलीले जानकारी दिए ।प्रतियोगिता सम्पन्न गर्न ३० जना रेफ्री तथा निर्णायकको तालिम पनि सम्पन्न भइसकेको नेपाल एथलेटिक्स संघका केन्द्रीय उपाध्यक्ष कुमार श्रेष्ठले बताए ।
नेपाल एथलेटिक्स संघबाट मान्यताप्राप्त सहारा हाफ म्याराथन झापामा पहिलोपटक हुन लागेको हो । नेपालकै सबैभन्दा ठुलो र उत्कृष्ट सहकारी संस्था सहारा नेपाल साकोसले आफ्नो २८ औँ स्थापना दिवसको अवसरमा पारेर हाफ म्याराथन प्रतियोगिता आयोजना गर्ने भएको हो । झापा जिल्ला खेलकुद विकास समितिको समन्वयमा संस्थाको अतिरिक्त क्रियाकलाप उपसमितिले प्रतियोगिता आयोजना गरेको हो ।
संस्थाको मुल कार्यालयबाट सुरु भएको प्रतियोगिता चारपानेचोक–प्रभुचोक–सांगवेद स्कुल–ओमचोक–कुशलचोक–अर्जुनधाराधाम–वरपीपलचोक–मिलडाँडा–प्रगतिटोल–भाङबारी–तामाङचोक–रातेखाल–बिरिङ खोलाको कज्वे–पानीकल–लक्ष्मीपुर हुँदै सहारा साकोस शिक्षा सदनमा आएर टुंगिनेछ ।
प्रतियोगितामा महिला र पुरुषको अलगअलग विधा हुनेछ । प्रतियोगितामा प्रथम हुनेलाई नगद ५१ हजार, दोस्रोलाई नगद ३१ हजार र तेस्रो हुनेलाई नगद २१ हजार रुपैयाँ प्रदान गरिने संस्थाका निर्देशक लक्ष्मण खतिवडाले जानकारी दिए । त्यस्तै, चौथोदेखि दशौँसम्म हुनेलाई नगद ५ हजार रुपैयाँ प्रदान गरिनेछ । प्रतियोगितामा १८ वर्षभन्दा माथिका खेलाडीहरुले सहभागिता जनाउन पाउनेछन् ।