बिर्तामोड ।
झापाको बिर्तामोडमा हुने प्रदेश स्तरीय शारिरीक सुगठन प्रतियोगिताको अन्तिम तयारी पुरा भएको छ । आयोजक ग्यालेक्सी फिटनेसले बिर्तामोडमा आइतवार (आज) पत्रकार भेटघाटको आयोजना गरी यस बर्ष हुने शारिरीक सुगठनको तयारी पुरा भएको जनाएको हो ।
चैत २४ र २५ गते बिर्तामोडमा हुने प्रतियोगितामा कोशी प्रदेशका खेलाडीले सहभागी हुन पाउँने आयोजक समितिका सचिव केशब श्रेष्ठले जानकारी दिए । खेलाडीलाई बिभिन्न ५ समुहमा बिभाजन गरेर प्रतियोगितामा सहभागी गराइने आयोजकले जनाएको छ ।
प्रतियोगितामा ५५, ६०, ६५, ७० र ७५ केजीभन्दा माथीको तौल समुहमा प्रतिष्पर्धा गराइने उनले बताए । तौल समुहका बिजेतामध्ये प्रतिष्पर्धा गराएर एकजना च्याम्पियन छनौट गरिने कार्यसुची रहेको श्रेष्ठले जानकारी दिए ।
प्रतियोगिताको बिजेताले २ लाख, दोस्रो हुनेले १ लाख २५ हजार, तेस्रो ७५ हजार, चौथो ५० हजार र पाँचौ हुनेले ३० हजार रुपैंयाँ पुरस्कार पाउँने आयोजक समितिका कोषाध्यक्ष चन्द रानामगरले जानकारी दिए । त्यसैगरी हरेक तौल समुहमा दोस्रो र तेस्रो हुनेले जनही १० र ५ हजार रुपैंयाँ पुरस्कार पाउँने मगरले जानकारी दिए ।
बिर्तामोडको कृष्ण सिनेमा हलमा आयोजना हुने प्रतियोगितामा प्रदेशभरका १ सय ५० भन्दा बढी खेलाडी सहभागी हुने अपेक्षा आयोजकको छ । प्रतियोगिता सम्पन्न गर्न १५ लाख रुपैंयाँ खर्च हुने अनुमान रहेको उनको भनाई छ । कार्यक्रममा आयोजक समितिका उपाध्यक्ष रोहित गजमेर, सदस्य रेखा बास्तोला, संरक्षक कल्पना मगर, सल्लाहकार रतन लिम्बुलगायतको उपस्थिति रहेको थियो ।