बिर्तामोड ।
फुटसलको प्रवर्धन तथा खेलाडी उत्पादन गर्ने उदेश्यले बिर्तामोड नगर खेलकूद विकास समितिको आयोजनामा वडास्तरीय फुटसल प्रतियोगिता हुने भएको छ ।
नगर खेलकूद समितिले सोमवार (आज) बिर्तामोडमा पत्रकार सम्मेलन गरी चैत १७ र १८ गते वडा स्तरीय फुटसल प्रतियोगिता गर्ने जानकारी दिएको हो ।
बिर्तामोड नगरका १० वटै वडाका टिमहरु सहभागी रहने फुटसल प्रतियोगिता बिर्तामोड–१ स्थित एक्सुलेटमा हुने बिर्तामोड नगर खेलकूद विकास समितिका अध्यक्ष विकास गिरीले जानकारी दिए ।
४० मिनेटको प्रतियोगितामा बिजेता टिमलाई ५० हजार रुपैयाँ र उपबिजेता टिमलाई नगद २५ हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष गिरीले बताए ।
त्यस्तै म्यान अफ द म्याचका ९ जनालाई जनही २ हजार एकसय स्पैयाँ नगद पुरस्कारसहित मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने नगर खेलकूद विकास समितिका सदस्य सुदिप खवासले जाकारी दिए । त्यस्तै बेष्ट प्लेयरलाई नगद ५ हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ ।
बिहान ११ बजेदेखि शुरु हुने प्रतियोगिताको उद्घाटन बिर्तामोड नगर प्रमुख पवित्रा महतरा प्रसाईले गर्ने बताइएको छ । वडाले खेलाडीहरु सिफारिस गर्ने बताउँदै अध्यक्ष गिरीले प्रतियोगिता सम्पन्न गर्न अनुमानित ३ लाख रुपैयाँ खर्च हुने बताएका छन् । कार्यक्रमको सञ्चालन नगर खेलकूद समितिका सदस्य बिशाल अग्रवालले गरेका थिए ।
पत्रकार सम्मेलनमा नगर खेलकूद समितिका उपाध्यक्ष सन्तोष गुरुङ, आइतमाया शेर्मा, सचिव बिशन लिम्बु, राम प्रसाई, माधव खरेल, सागर राई, बागधन राई, रिन्टु हस्दा, रमेश उप्रेती, बिकि चौधरी, सारदा दाहाललगायतको उपस्थिति रहेको थियो ।