- चन्द्र बस्नेत
कनकाई ।
झापाको कनकाई नगरपालिकामा भएको झापा जिल्ला अन्तरपालिका कर्मचारी स्तरीय फुटबल प्रतियोगिताको कर्मचारीको टिम क्वाटर फाइनलमा प्रवेश गरेको छ । बिर्तामोड नगरपालिकाको आयोजनामा भइरहेको प्रतियोगिता अन्तर्गत शनिबार भएको रोमाञ्चक खेलमा हल्दीबारी गाउँपालिकाको कर्मचारीको टिमलाई ३–० शुन्य गोल अन्तरले पराजित गर्दै कनकाई नगरपालिकाको कर्मचारीको टिम प्रतियोगिताको क्वाटर फाइनलमा प्रवेश गरेको छ ।
बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा भएको खेलमा कनकाईलाई जित दिलाउन खेल सुरु भएको छैटौं र ३० औं मिनेटमा कर्मचारी डिल्ली बिकले २ गोल गरेका थिए । अर्का कर्मचारी मनिस भट्टराइले कनकाईकालागि २० औं मिनेटमा थप एक गोल गरेका थिए । खेलमा कनकाईका मनिष भट्टराई म्यान अफ दी म्याच घोषित भएको कनकाईका कर्मचारी विजय पाठकले जानकारी दिए । उनलाई उप–सचिव पिताम्बर गौतमले ट्रफी र नगद २५ सय पुरस्कार प्रदान गरेको कर्मचारी विवेक भण्डारीले जानकारी दिए ।
त्यस्तै शनिबार भएको दोश्रो खेलमा शिवसताक्षी नगरपालिकाको कर्मचारीको टिम पनि क्वाटर फाइनलमा प्रवेश गरेको छ । गौरीगञ्ज गाउँपालिकालाई २–० गोल अन्तरले पराजित गर्दै शिवसताक्षी नगरपालिकाको कर्मचारीको टिम प्रतियोगिताको क्वाटर फाइनलमा प्रवेश गरेको हो ।
त्यस्तै शनिबार नै भएको अर्को खेलमा भद्रपुर नगरपालिकाको टोलिलाई २–१ गोल अन्तरले पराजित गर्दै गौरादह नगरपालिकाको कर्मचारीको टिम प्रतियोगिताको क्वाटर फाइनलमा प्रवेश गरेको छ । त्यस्तै अर्को खेलमा कमल गाउँपालिकालाई टाई ब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै मेचीनगर नगरपालिकाको टिम प्रतियोगिताको क्वाटर फाइनलमा प्रवेश गरेको छ ।
त्यस्तै हिजो नै भएको प्रि–क्वाटरफाइनलको अन्तिम खेलमा बुद्धशान्ति गाउँपालिकालाई ४–२ गोल अन्तरले पराजित गर्दै दमक नगरपालिका प्रतियोगिताको क्वाटर फाइनलमा प्रवेश गरेको छ । खेलमा दमकका लागि दुई गोल गर्ने खेलाडी रेवत श्रेष्ठ म्यान अफ दि म्याच चुनिए । उनलाई बिर्तामोड नगरपालिकाका उपमेयर नगेन्द्रप्रसाद संग्रौलाले ट्रफी र नगद २५ सय पुरस्कार प्रदान गरेका थिए ।
प्रतियोगिताको विजेताले नगद ६५ हजार र उपविजेताले नगद ४० हजार पुरस्कार पाउने आयोजक बिर्तामोड नगरपालिकाका प्रेस संयोजक रमेश तिवारीले जानकारी दिए ।