चारपाने । 

नेपालकै सवै भन्दा ठूलो सहकारी संस्थाको रुपमा परिचित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले २८ औं स्थापना दिवसका अवसरमा ‘हाफ म्याराथन प्रतियोगिता’ गर्ने भएको छ । 

संस्थाले साकोसको स्थापना दिवसका अवसरमा आगामी चैत २१ गते ‘सहारा हाफ प्रतियोगिता’ आयोजना गर्ने भएको शनिवार (आज) संस्थाको मुख्य कार्यालय बिर्तामोड–२ चारपानेमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । 

२८ औं वार्षिकोत्सवको अवसर पारेर संस्थाको अतिरिक्त क्रियाकलाप उप–समितिले झापा जिल्ला खेलकुद विकास समितिको समन्वयमा चैत २१ गते हाफ म्याराथन प्रतियोगिता गर्न लागेको छ ।  २१.०९ किलोमिटर खुला हाफ म्याराथन प्रतियोगितामा देशभरिका खेलाडीले सहभागिता जनाउन पाउने बताइएको छ । आर्थिक, शैक्षिक, स्वास्थ्यसँगै खेलकुदलाई पनि प्रोत्साहन गर्ने उद्देश्यले म्याराथन आयोजना गरिएको अतिरिक्त क्रियाकलाप उप–समितिका संयोजक प्रशान्त भण्डारीले जानकारी दिए । 

संस्थाको केन्द्रीय कार्यालयबाट शुरु भएको प्रतियोगिता चारपाने चोक, प्रभुराम चौक, सांगवेद स्कुल, ओम चौक, कुशल चौक, अर्जुनधाराधाम, वरपीपल चौक, मिलडाँडा, प्रगति टोल, भाडवारी, तामाङ चौक, रातेखाल, बिरिङ खोलाको कज्वे, पानीकल, लक्ष्मीपुर हुँदै सहारा साकोस शिक्षा सदनमा आएर टुङ्गिने बताइएको छ । 

प्रतियोगितामा महिला र पुरुषको अलग अलग विधा हुनेछ । प्रतियोगितामा प्रथम हुनेलाई नगद ५१ हजार, दोस्रोलाई नगद ३१ हजार र तेस्रो हुनेलाई नगद २१ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । त्यस्तै, चौथोदेखि दशौंसम्म हुनेलाई नगद ५ हजार रुपैयाँ प्रदान गरिनेछ ।प्रतियोगितामा ५ सय भन्दा वढिको सहभागीता रहने जनाइएको छ । 

संस्थाको स्थापना दिवसको अवसरमा संस्थाको स्थापनाकालदेखि हालसम्म भएका प्रगति तथा अन्य जानकारी मुलक सन्देश भएका फोटोहरुको प्रदर्शनी राखिएको छ । चैत २१ गते नै संस्थाले नगद डिपोजिट मेसिन र ज्येष्ठ नागरिक स्वास्थ्य हेरचाह कार्यक्रमको शुभारम्भ जनाइएको छ । 

sahara khel

विश्व बजारमा परेको आर्थिक मन्दी र नेपालका बैंक तथा वित्तीय संस्थाहरुमा तरलता अभाव भइरहेको जटिल परिस्थितिमा पनि संस्थाले सहज ऋण लगानी र सदस्यहरुको वचतको पूर्ण सुरक्षा प्रदान गर्दै आइरहेको संस्थाका बरिष्ठ उपाध्यक्ष हरिप्रसाद निरौलालले जानकारी दिए । 

संस्थाको वित्तीय अवस्थालाई अझ मजबुत बनाउने सोच अनुरुप मिसन ०८८ सम्मको रणनीतिक योजना निर्माण गर्दै एक खर्बको वासलात बनाउने लक्ष्य तय गरेको छ । हाल संस्थाको ८० वटा सेवा केन्द्रमा १ लाख ६० हजार ६३४ जना शेयर सदस्यहरु आवद्ध रहेको संस्थाले जनाएको छ । 

त्यस्तै संस्थाको शेयर पुँजी  १ अब ६४ करोड २३ लाख, जगेडा कोष १ अब ११ करोड २१ लाख, अन्य कोष ४४ करोड ७१ लाख, वचत १० अर्ब ६६ करोड ०७ लाख लगानीमा रहिरहेको ऋण १२ अर्थ, भौतिक सम्पत्ती, ५१ करोड ७० लाख र वाह्य ऋण १ अर्व २५ करोड रहेको छ । ०७९ माघ मसान्तसम्मको संस्थाको वासलात १५ अब ५५ करोड पुगेको छ । सदस्य, पुँजी तथा सदस्य संरक्षण, समुदायप्रतिको चासो लगायत सम्पूर्ण हिसाबले यसवर्ष मुलुक भरिकै पहिलो र उत्कृष्ठ संस्था भएको संस्थाको दावी छ । 

संस्थाले हाल एटिएम, ट्याबलेट, मोबाइल एप्स, क्युआर कोड र एसएमएस बैंकिङ सेवा सञ्चालनमा ल्याइसकेको छ भने अझै बलियो बनाउन यसवर्ष पनि एकीकरण प्रक्रियालाई निरन्तरता दिएको संस्थाका निर्देशक लक्ष्मण खतिवडाले जानकारी दिए । 

संस्थाले यसै आ.व. भित्र ८९ सेवा केन्द्र, १ लाख ७५ हजार सदस्य र १७ अर्बको वासालात बनाउदै ६२ करोड नाफा कमाउने उद्देश्य राखेको छ । पत्रकार सम्मेलनमा संस्थाका उपाध्यक्ष पबित्रा लिम्बु, प्रथम उपाध्यक्ष छबिलाल खतिवडा, द्धितीय उपाध्यक्ष ज्ञानुनाथ मैनालीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन संस्थाका तालिम अधिकृत मात्रिका सुवेदीले गरेका थिए ।