बिर्तामोड । 

बिर्तामोड नगरपालिकाले झापा जिल्ला अन्तरपालिका कर्मचारी स्तरीय फुटबल प्रतियोगितामा विजयी शुरुवात गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा शुक्रवार (आज) बाट शुरु भएको प्रतियोगितामा कचनकवल गाउँपालिकालाई ४–२ गोल अन्तरले पराजित गर्दै आयोजक टिम विर्तामोडले विजयी शुरुवात गरेको हो ।

खेलमा विर्तामोडलाई जित दिलाउन चुनु शोरेनले ह्याट्रीक गरे । उनले खेलको ९औं मिनेटमा टिमकालागि दोस्रो तथा व्यक्तिगत पहिलो गोल गरेका थिए । त्यसअघि खेलको पहिलो हाफको चौथो मिनेटमा विर्तामोडकालागि टिम कप्तान राम बुढाथोकीले पहिलो गोल गरेका थिए । खेलको १३ औं मिनेटमा चुनु शोरेनले टिमकालागि तेस्रो तथा व्यक्तिगत दोस्रो गोल गरेका थिए । उनले खेलको ५३ औं मिनेटमा थप एक गोल गर्दै ह्याट्रीक पुरा गरे ।

कचनकवलकालागि भने खेलको १८ औंं मिनेटमा महेन्द्र राजवंशीले एक गोल गरेका थिए । उसकालागि २४ औं मिनेटमा प्रकाश घिमिरेले थप एक गोल गरे । खेलमा कचनकवलकालागि पहिलो गोल कर्ता राजवंशीले पँहेलो कार्ड पाएका थिए।

 विर्तामोडकालागि ह्याट्रीक गर्ने खेलाडी चुनु शोरेन खेलको म्यान अफ दी म्याच चुनिए । उनले ट्रफी र नगद २५ सय रुपैयाँ पुरस्कार पाए । उनलाई बिर्तामोड नगरपालिकाकी मेयर पवित्रा महतारा प्रसाईले पुरस्कार प्रदान गर्नुभएको थियो । विर्तामोड नगरपालिकाको आयोजनामा सुरु भएको प्रतियोगिताको विजेताले नगद ६५ हजार र उपविजेताले नगद ४० हजार पुरस्कार पाउने छ।

त्यस्तै प्रतियोगिता अन्तगर्तआज भएको दोस्रो खेलमा अर्जुनधारा नगरपालिकालाई ३–० गोल अन्तरले पराजित गर्दै बाह्रदशी गाउँपालिका विजयी बनेको छ । प्रतियोगिताको दोस्रो खेलमा बाह्रदशीकालागि पहिलो हाफको तेस्रो मिनेटमा टिक कप्तान प्रदिप श्रेष्ठले पहिलो गोल गरेका थिए । त्यस्तै खेलको ९ औं मिनेटमा सन्त कुमार श्रेष्ठले बाह्रदशीकालागि दोस्रो गोल गरे । बाह्रदशीकालागि खेलको इन्जुरी समयमा कैलाश डोमले तेस्रो गोल गरेका थिए ।

खेलमा अर्जुनधाराको कर्मचारीको टिमले भने कुनै पनि गोल गर्न सकेन । पहिलो हाफमा २–० गोल अन्तरले पछि परेको अर्जुनधाराले दोस्रो हाफमा सुधारीएको प्रदर्शन गरेपनि गोल स्कोर भने गर्न सकेन् ।  खेलमा बाह्रदशीकालागि तेस्रो गोल गर्ने कैलाश डोम म्या अफ दि म्याच चुनीए । उनले ट्रफी र नगद २५ सय रुपैयाँ पुरस्कार पाए । उनलाई पूर्वकर्मचारी तथा सामाजिक व्यक्तित्व देवराज कार्कीले पुरस्कार प्रदान गरेका थिए ।

चैत्र २४ गतेसम्म संचालन हुने प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि विर्तामोड नगरपालिकाकी मेयर पवित्रा  महतारा प्रसाईले  गरेकी थिइन् ।