बिर्तामोड । 

विज्ञसँग प्राविधिकहरुको पशु प्रजनन सम्बन्धी अन्तरक्रिया कार्यक्रम बिर्तामोडमा शुरु भएको छ  । बिर्तामोड नगरपालिका पशुपंछी तथा मत्स्य विकास शाखाको आयोजनामा २ दिने  अन्तरक्रिया कार्यक्रम मंगलबार आजदेखि शुरु भएको हो । 

कृत्रिम गर्भाधान प्रक्रिया (एआई) मा धेरै समस्या आउन थालेका कारण बिर्तामोड र हल्दीबारीका गरि २५ जना पशु प्राविधिकलाई राखेर कार्यक्रमको आयोजना गरिएको पशुपछी तथा मत्स्य विकाश शाखा प्रमुख सावित्रा दाहालले जानकारी दिइन् । 

कार्यक्रममा नगर प्रमुख पवित्रा महतारा प्रसाईले किसानले गरेको श्रम खेर जान नदिनका लागि यस प्रकारका समस्या समयमै निराकरण गर्नु पर्ने बताइन । उनले कार्यक्रममा सिकेको कुरालाई व्यवहारमा उतार्न प्राविधिकहरुलाई आग्रह गरिन् ।

अन्तरक्रियापछि गोठ–गोठमै पुगेर समस्याका बारेमा पहिचान तथा समाधान गरिने शाखा प्रमुख दाहालले जानकारी दिएकी थिइन्। सहभागीहरुलाई सिमेन बैंक लाहानका डा. शुभनाथ महतो र अधिकृत नगेन्द्रप्रसाद महतोले सहजीकरण गर्दैछन् ।