बिर्तामोड । 

 झापाको बिर्तामोडमा लेखा व्यवस्थापन तथा कर सम्बन्धी तालिम शुरु भएको छ । बिर्तामोड नगरपालिकाको आयोजनामा आजदेखि बिर्ताबजारमा तालिम शुरु भएको हो ।

तालिमको नगर प्रमुख पवित्रा महतारा प्रसाईले उद्घाटन गरेकी हुन् । तालिमको उद्घाटन गर्दै नगर प्रमुख प्रसाईले जनता र सहकारी विचको सम्बन्ध पारदर्शी बनाउने उदेश्यका साथ उक्त तालिमको आयोजना गरिएको बताएकी छिन् । सहकारीले राज्यलाई सहयोग गरेको भन्दै उनले सहकारीहरुलाई नियमन गर्दै बलियो बनाएर लैजानु पर्ने धारणा ब्यक्त गरिन् । 

तालिममा अहिले ३० जना सहभागी छन् । यसपछि फेरि ३० जनालाई तालिमको व्यवस्थापन गरिने नगरका सामाजिक विकास तथा सहकारी शाखा अधिकृत डिल्ली दाहालले जानकारी दिए। तालिममा कर व्यवस्थापन, खाता पोष्टीङ्ग, नाफा नोक्सान, आयव्यय, ट्रायल व्यालेन्स, ट्रेडिङ्ग अकाउण्ट, नाफा बाँडफाड, वासलत लगायतका विषयमा प्रशिक्षण गराइने अधिकृत दाहालले जानकारी दिए।

सामाजिक विकास समिति संयोजक यमुना आचार्यको अध्यक्षतामा आयोजित तालिम उद्घाटन कार्यक्रममा कार्यपालिका सदस्य तिला गौतम, निर्मला सुनुवार, बिर्तामोड नगरअस्पताल सञ्चालन तथा व्यवस्थापन समिति सदस्य अर्जुन पाठकको समेत उपस्थिति रहेको थियो । बिर्तामोड नगरपालिकाले यसअघि सहकारी तथा गरिबी निवारण सूचना प्रणाली (कोपोमिस) सम्बन्धि तालिम ६० जनालाई प्रदान गरेको थियो ।