झापा । 

झापाको कनकाई नगरपालिकास्थित कनकाई माबिको खेल मैदानमा जारी झापा जिल्ला स्तरीय महिला फुटवल प्रतियोगितामा आयोजक टिम कनकाई महिला फुटवल क्लबले उपाधि हात पारेको छ ।  प्रतियोगितामा आयोजक टिम कनकाई फुटवल क्लबले जुनतारा महिला फुटबल क्लब खुदुनाबारीलाई ३–० ले पराजित गरेको हो ।  

कनकाई खेलकूद प्रतिष्ठानको आयोजना तथा कनकाई नगर खेलकूद विकास समितिको सह–सह–आयोजना साथै कनकाई नगरपालिकाको आर्थिक सहयोगमा भएको प्रतियोगिताको समापन समारोहको प्रमुख अतिथि उप–सभामुख इन्दिरा राना मगर रहेकी थिइन् ।

समापन समारोहमा नगर प्रमुख राजेन्द्रकुमार पोखरेल, जिल्ला खेलकूद विकास समिति झापा अध्यक्ष प्रशान्त भण्डारी, सामाजिक अभियन्ता शेरबहादुर थापा, वडा नं. ४ का वडाध्यक्ष रोशन सुवेदी, वडा नम्बर ७ का वडाध्यक्ष भिष्मभूषण सिटौलालगायतको उपस्थिति रहेको थियो । 

khelkud 1

प्रतियोगितामा प्रथम हुने टिमले नगद ७५ हजार, दोस्रो हुने टिमले नगद ५० हजार पुरस्कार साथै दुबै टिमले शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेको आयोजक कनकाई खेलकूद प्रतिष्ठानका अध्यक्ष छवी थपलियाले जानकारी दिए । प्रतियोगितामा विधागत तर्फ उत्कृष्ट गोल रक्षक, सर्वाधिक गोल कर्ता र प्लेयर अफ द सिरिजलाई जनही नगद ३ हजार रुपैयाँ प्रदान गरिएको थियो । 

११३ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर गत फागुन १७ गतेदेखि शुरु भएको जिल्ला स्तरीय महिला फुटवल प्रतियोगिताको सातौ संस्करण बुधवार (आज) समापन भएको हो ।