हल्दीबारी । 

नव सृजना प्राथमिक विद्यालय हल्दिबारी –२ को दुई कोठे भवन निमार्णका लागि शिलान्यास सम्पन्न भएको छ। बुधबार(आज) बिद्यालयमा आयोजित कार्यक्रममा झापा  क्षेत्र नम्बर ३ (ख) का प्रदेश सभा सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि छविलाल चुडालले भवनको शिलान्यास गरेका हुन् । 

भवन निर्माणका लागि संघीय सरकारबाट राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम मार्फत  २२ लाख ५० हजार रुपैयाँ  र स्थानीय जनसहभागितामा विद्यालय भवन निर्माण हुने भएको छ ।

विद्यालय भवन बनाउन जग्गाको क्षेत्रफल अभाव भएको कारण  विद्यालयका जग्गा दाता होमनाथ दाहालका छोरा–बुहारी गोपाल दाहाल तथा तारा दाहालले भवन  लागि आवश्यक अनुमानि ७.५ धुर जग्गा प्रदान गर्ने घोषणा समेत गरेका छन् ।

कार्यक्रममा समाजसेवीहरु देवनारायण चुडाल, यज्ञ खरेल,  लक्ष्मीप्रसाद दंगाल, जग्गा दाता होमनाथ दाहाल, वडा नं.२ का वडा सदस्य विष्णु राईलगायतले शुभकामना मन्तब्य राखेका थिए । 

भवन निर्माण समितिका अध्यक्ष गंगाप्रसाद प्रसाईले भवन निर्माणका बारेमा प्रकाश पारेका थिए। कार्यक्रममा स्वागत शिक्षक कृष्णमाया प्रसाईंले र कार्यक्रमको अध्यक्षता बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष लक्ष्मीप्रसाद खनालले गरेका थिए ।