बिर्तामोड । 

झापाको बिर्तामोड नगरपालिकाले निर्माण गरेको नयाँ बिर्तामोड नगर अस्पतालले सेवा सञ्चालन गर्ने भएको छ । केन्द्र सरकारको पाँच करोड ५० करोड लाख ७ हजार७ ६० रुपैयाँको लागतमा १५ शैय्याको नगर अस्पताल भवन निर्माण भई सेवा सञ्चालन गर्ने भएको हो । भवनको निर्माण धुलिखेल निर्माण सेपा प्रालिले गरेको बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौनोपाले जानकारी दिए ।

मानिसको सबैभन्दा ठूलो धन स्वास्थ्य भएकाले नगरपालिकाले स्वास्थ्यलाई विशेष प्राथमिकतामा राखेको नगरपालिकाकी नगरप्रमुख पवित्रा महतरा प्रसाईंले बताइन्  । उनले मानिसको स्वास्थ्य सवैभन्दा ठूलो भएको बताउँदै शिक्षा पाएन भने पनि स्वास्थ्य ठीक छ भने गरिखान सक्ने बताइन् । हरेक नगरबासीमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्यका साथ गनर लागिपरेको उनको भनाई छ । 

नगर अस्पतालबाट २१ प्रकारका सेवा प्रवाह हुने छन् । नगर अस्पतालबाट नेपाल सरकारले लागू गरेको स्वास्थ्य बिमासहित दैनिक बहिरंग, प्रयोगशाला, भिडियो एक्स–रे, ईसीजी, प्रसुती, एक्स–रे लगायतका सेवा प्रवाह हुने नगर अपस्तालका नवनियुक्त मेडिकल सुपरिटेन्डेन्ट डा.सुनिल अधिकारीले बताए । उनले विश्वसनीय र गुणस्तरीय सेवा प्रदान  गर्दै विशेष परिस्थिति बाहेक रिफर नदिइने जानकारी दिए । 

btm aspatal

नगर अस्पतालका हाल ३६ जना जनशक्ति समेत व्यवस्थापन भइसकेको छ । एक जना विशेषज्ञसहित तीन जना मेडिकल अधिकृत, प्यारामेडिक्स १२ जना, नर्स सात, प्रयोगशालामा चार, रेडियोग्राफर एक, प्रशासन कर्मचारी एक, कार्यालय सहयोगी चार, सरसफाइ कर्मचारी दुई र सुरक्षा गार्ड एकजना गरी ३६ जना जनशक्ति व्यवस्थापन गरिएको नगरपालिकाका स्वास्थ्य शाखा अधिकृत राजिव विष्टले जानकारी दिए ।

अस्पताल परिसरमा थप  १८ करोड ५० लाख रुपैयाँको लागतमा भवन निर्माणको तयारी भइरहेको छ । भवनसँगै क्रमशः अस्पतालबाट प्रवाह हुने सेवा विस्तार गरिने जनाइएको छ । नगर अस्पतालको उद्घाटन फागुन २० गते सभामुख देवराज घिमिरेले बिर्तामोड नगरपालिकाद्धारा बिहीवार (आज) पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । पत्रकार सम्मेलनको सञ्चालन स्वास्थ्य शाखा प्रमुख राजिवकृष्ण बिष्टले गरेका थिए ।