झापा ।

बैक भौचरको प्रतिलिपी मांग गरेपछि  शिक्षा बिकास तथा समन्वय इकाई सिरहाले एसइइ परीक्षाका लागि प्रयोग हुने फारम बापत कानून बिपरीत बिद्यालयहरुवाट असूल  गरेको १ लाख ५२ हजार ९ सय ६० रुपैयाँ  खातामा जम्मा गरेको रहस्य खुलेको छ । 

सूचनाको हक सम्बन्धि ऐन, २०६४ ले दिएको अधिकार प्रयोग गरी सिरहा ७ का  परशुराम साहले फारम बापत दस्तूर तिनुपर्ने कानूनी प्रावधान र संकलित रकम बैकमा जम्मा भएको प्रमाणको खोजी गरेपछि इकाइ कार्यालयले कोष तथा लेखा नियन्त्रण कार्यालय सिरहा को नाममा राष्ट्रिय बाणिज्य बैकमा रहेको खाता न ख ६–२१३०१००१०२०६०००० मा उक्त रकम जम्मा गरेको हो ।

साहले गत माघ ८ गते ती ब्यहोराको सूचना मांग गरेपछि सिरहा इकाइले माघको ११ गतेमा फरक फरक भौचरबाट उक्त रकम जम्मा गरेको  हो । एउटै मितिमा जम्मा गरिएको पहिलो भौचरमा ६९ हजार २ सय ८० र दोस्रो भौचरमा ८३ हजार ६ सय ८० रुपैयाँ जम्मा गरेको हो । प्रति फारम बापत २० रुपैयाँका दरले संकलन गरेको रकम ७ हजार ६ सय ४८ बिद्यार्थी बरावरका रकम हुन तर सिरहाका नीजि र सामुदायिक बिद्यालयवाट १० हजार भन्दा बढी बिद्यार्थी एसइइ परीक्षाका लागि फारम भरेको बुझिन आएको छ  । यस अर्थमा बाँकी विद्यार्थी बरावर बिद्यालयहरुले तिरेको रकम इकाइ कार्यालयले बैकमा किन जम्मा गरेनन ? वा कुन प्रयोजनमा खर्च गरेको हो ? भन्ने प्रश्न पनि तेर्सिएको छ ।

 इकाई प्रमुख रामबृक्ष महतोले, जिल्ला शिक्षा समितिले गरेको निर्णयको आधारमा फारम बापत २० रुपैयाँको दरले दस्तूर लिएको बताएका छन तर सूचनाका अभियन्ता साहले २०७० सालदेखि २०७८ सालसम्ममा फारम बापत लिएको दस्तूर के मा कसरी खर्च भयो ? सोको लिखित जानकारी माग गरेपछि इकाई प्रमुख महतोले लेखा सम्बन्धी काम गर्ने कर्मचारी नभएकोले उपलब्ध गराउन नसकिएको जवाफ दिएका छन् । गत वर्ष इकाइ प्रमुख रहेका शसिकुमार यादवले बिगत बर्षदेखि कानून बिपरीत फारम बापत असूल गर्दै आएको परम्परालार्इ तोडेका थिए । इकाइ प्रमुख यादवको सरुवापछि इकाइ प्रमुखको जिम्मेवारी पाएका महतोले कानून बिपरीत फारम बापत बिद्यालयहरुवाट रकम असूल  पुनःशुरु गरेको शिक्षक संघका किशोर यादवले बताए ।

कल्याणपुर नगरपालिका भित्रका सामुदायिक बिद्यालयका प्रधानाध्यापकहरुले स्तरमापन परीक्षाको नाममा बिद्यार्थी बाट ३०० का दरले असूल गरेको पोल खुलेको छ ।

परीक्षा समिति गठन गरी प्रतिबिद्यार्थी रू ३०० का दरले लिने  र सो मध्ये नगर स्तरीय  स्तरमापन परीक्षा समितिलाइ १५० बुझाइ बांकी १५० बिद्यालयले लिने ब्यहोराको सूचना कल्याणपुर नगरपालिकाको फेसबूक पेजवाट सार्वजनिक भएपछि कानून बिपरित बिद्यालयहरुले, स्तरमापन परीक्षाको नाममा  विद्यार्थीबाट शुल्क लिने गरेको पोल खुलेको हो । कानूनमा स्तरमापन परीक्षा लिने र बिद्यार्थीबाट शुल्क लिने कानूनी प्रावधान छैन।

परीक्षा र शुल्क सम्बन्धमा आफुलाइ केही थाहा नभएको कल्याणपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णु रंजन बरालले बताए तर प्रश्नपत्र र उतरपुस्तिका नगरपालिकाको सभाहलबाटै उपलब्ध गराइएको ब्यवस्थाले प्रमुख प्रशासकीय अधिकृत बरालले दिएको प्रतिकृया छलछाम गर्न मात्र रहेको देखिएको छ । बिद्यालयले राख्ने १५० बाट केन्द्राध्यक्षले १७५, सहायक केन्द्राध्यक्षले १२५, निरीक्षकले १००, कार्यालय सहायकले ५० र उतरपुस्तिका परीक्षणमा प्रतिकपी रू ५ लिन समितिले निर्देशन दिएको छ । परीक्षा समितिमा रघुनाथ साह, श्रीराम मंडल, बिनय यादव, महेश्वर यादव, रमेशकुमार यादव र धौशी राइन रहेको छ ।

प्रत्येक नागरिकलाई माध्यमिक तह सम्मको शिक्षा निःशुल्क पाउने हक हुनेछ भन्ने ब्यवस्था नेपालको संबिधान,२०७२ को धारा ३१ मा रहेको छ । त्यस्तै सामुदायिक बिद्यालयले विद्यार्थीका नाममा कुनै किसिमका शुल्क लिन पाउने छैन भन्ने ब्यवस्था शिक्षा ऐन २०२८ को दफा १६ घ मा रहेको छ ।कुनै बिद्यालयले ऐन बिपरीत विद्यार्थीसंग कुनै शुल्क लिएमा तोकिएको अधिकारीले त्यस्तो शुल्क सम्बन्धित विद्यार्थीलाई फिर्ता गर्न लगाउने र ऐन बिपरित शुल्क लिने बिद्यालयलाइ तोकिएको अधिकारीले २५ हजार सम्म जरीवाना गर्न सक्ने ब्यवस्था ऐनमा छ । ऐनमा भएको ब्यवस्था कार्यान्वयन गर्ने र गराउने निकायले बिभिन्न बहानामा विद्यार्थीबाट रकम असूल्दै आएको र ती रकम इकाई प्रमुख र बिद्यालयका प्रधानाध्यापकले कोषमा जम्मा न गरी आफुखुशी खर्च गर्दै आएको  स्रोतको  दावी छ ।