भद्रपुर । 

भद्रपुर झापा गोल्डकपको उपाधि रक्षाका लागि मंगलबार लिग च्याम्पियन मच्छिन्द्र फुटबल क्लब र त्रिभुवन आर्मी फुटबल क्लब आमने सामने हुनेछन् । उपाधि रक्षाका लागि मेची रंगशालामा दुवै टोलीको पहिलो भेट हुने भएको हो । तेस्रो पटक रंगशालामा उत्रँदा मच्छिन्द्र यस सिजनको दोस्रो उपाधिको दौडमा हुनेछ ।

मच्छिन्द्र गत फागुन ७ गते सर्लाहीमा आयोजित सातौँ राजर्षि जनक कपको उपाधि रक्षा गरेर उत्साहित छ । आर्मी भने पहिलो उपाधि रक्षा गर्ने लयमा छ । आइतबार भएको अन्तिम सेमिफाइनलमा एपीएफ एफसीमाथि १–० गोलको साँघुरो जित दर्ता गरेको मच्छिन्द्रले टिमको मिहेनतलाई श्रेय दिँदै जित निकाल्ने प्रशिक्षक प्रवेश कटुवालले प्रिम्याच प्रेस कन्फरेन्समा बताए । केही नयाँ खेलाडी भएकाले पनि स्कोर सोचेजस्तो ननिस्किएको बताएका उनले टिम वर्कप्रति सन्तुष्ट रहेको सुनाए ।

नियमित खेल भइरहेकाले टिम सेट भइरहेको उनको भनाइ थियो । फाइनल खेलमा डिफेन्डर थपिने बताउँदै उनले आर्मीको खेल राम्रो भएको प्रतिक्रिया दिए । झापाका ७ जना खेलाडी समेटिएको मच्छिन्द्रमा पछिल्लोपटक पुजन उपरकोटी र अभिषेक गुरुङ भने चोटिल अवस्थामा छन् । मच्छिन्द्रका कप्तान सुजल श्रेष्ठले त्रिभुवन आर्मीलाई प्रतिस्पर्धी पाएकोमा हिजोको भन्दा राम्रो खेलेर उपाधि रक्षा गर्ने दाउमा रहेको सुनाए । आर्मीका प्रशिक्षक राजु तामाङले मच्छिन्द्रलाई सशक्त प्रतिद्वन्द्वीको रुपमा चित्रण गरे ।

आर्मी पनि लिगको तयारीमा रहेकाले फाइनल खेलमा केही खेलाडी थपिने पनि उनले सुनाए । मच्छिन्द्रको खेल राम्रो भएको बताएका उनले आफ्ना खेलाडीले पनि क्षमताअनुसार नै प्रदर्शन गरिरहेको भन्दै प्रशंसा गरे । सेमिफाइनलमा संकटा क्लबसँग १(० गोलको कठिन जित दर्ता गरेको आर्मी सिजनको पहिलो उपाधिको दौडमा छ । जित्नकै लागि प्रतिस्पर्धामा आए पनि खेल प्रस्तुतिमा भर पर्ने बताउँदै उनले योजनाअनुसार नै फाइनल खेल हुने पनि सुनाए ।

कप्तान गिलेस्पी जंग कार्कीले फाइनल खेलको नतिजा आफ्नो पक्षमा पार्न शतप्रतिशत प्रयास गर्ने बताए । उनले पहिलो खेलदेखिकै एकै रफ्तारले नतिजा निस्कनेमा ढुक्क रहेको सुनाए । गोल्डकपको विजेता टोलीले नगद १३ लाख र उपविजेताले नगद ७ लाख रुपैयाँ पाउने छ । प्रतियोगिताको प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद २० हजार पाउनेछन् । उत्कृष्ट गोलरक्षक, उच्च गोलकर्ता, उदयमान खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, फाइनल खेलको पहिलो गोलकर्ता र प्रशिक्षकलाई जनही २५ हजार दिइने आयोजकले जनाएको छ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख रुपैयाँ दिइने आयोजकले जानकारी दिएको छ । यसैबीच, आयोजक कमिटीका अध्यक्ष दिपेश ढकालले प्रतियोगिता सोचेभन्दा बढी नै सफल भएको दाबी गरे । लक्ष्यभन्दा कम रकम उठे पनि व्यवस्थापनमा कुनै कमी नरहेको उनको भनाइ थियो । आर्थिक मन्दी र स्थानीय सहयोगीलाई मार नपरोस् भनेर प्रतियोगिता २ २ वर्षमा गरिने भएको छ । प्रतियोगिताको आय व्ययबारे एक महिनाबारे हिसाब सार्वजनिक गर्ने उनको भनाइ छ । आयोजक कमिटीका महासचिव जीवनकुमार श्रेष्ठले आफ्नै क्लब, एकाडेमी सञ्चालनबारे कुनै सोच नबनाएको जानकारी दिएका थिए ।