बिराटनगर ।

१ नम्बर प्रदेश प्रहरी अस्पतालको उद्घाटन भएको छ । मोरङको बेलबारी नगरपालिका–३ मा रहेको पुरानो ईलाका प्रहरी कार्यालयको भवनमा सञ्चालित प्रदेश प्रहरी अस्पतालको संगठन प्रमुख प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले उद्घाटन गरेका हुन् । 

 नेपाल प्रहरी प्रदेश संरचनामा रुपान्तरण हुँदै गरेको र प्रदेश भरीका प्रहरी कर्मचारीहरूको स्वास्थ्यलाई ध्यानमा राख्दै प्रदेश प्रहरी अस्पतालको स्थापना भएको हो । उद्घाटन कार्यक्रममा प्रहरी महानिरीक्षक सिंहले १ नम्बर प्रदेश प्रहरी अस्पतालमा १ नम्बर प्रदेशमा रहेका पूर्व प्रहरी कर्मचारी, अमर तथा अशक्त प्रहरी कर्मचारी तथा बहालवाला प्रहरी कर्मचारीका साथै आश्रीत परिवार समेतको स्वास्थ्य सेवामा पहुँच पुर्याउने उदेश्यले प्रदेश प्रहरी अस्पताल सञ्चालनमा ल्याईएको बताएका छन् । 

उनले प्रहरी अस्पतालको निर्माण र सेवाले स्थानीयवासीहरुले समेत सेवा पाउने सबै किसिमका बिरामीहरुलाई सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउन हुन कार्यरत प्राबिधिक प्रहरी कर्मचारूहरूलाई निर्देशन समेत दिए । 

कार्यक्रममा बेलवारी नगरपालिकाका प्रमुख दिलप्रसाद राई, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज काठमाडौंका मेडिकल डाईरेक्टर प्राबिधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंह, प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक श्याम लाल ज्ञवालीले आ–आफ्नो भनाई प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रदेश प्रहरी अस्पतालका प्रहरी नायव उपरीक्षक डा. सरोज सिंहले प्रदेश प्रहरी अस्पतालको सेवा सम्वन्धि प्रतिवेदन प्रस्तुत गरेका थिए ।

यसका साथै प्रदेश प्रहरी अस्पतालमा तत्काल ३ जना बिशेषज्ञ चिकित्सकसहित १० जनाको प्राबिधिक टोलीले ओपिडि तथा ईमरजेन्सी लगायतका सेवा प्रदान गर्ने छ भने सेवा बिस्तारको क्रममा अन्य सेवाहरु समेत क्रमश थप हुँदै जाने प्रहरी नायव उपरीक्षक डा. सिंहले बताए । उक्त कार्यक्रममा जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराई, प्रदेश स्थित अन्य सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरु, बिभिन्न स्थानिय निकायका जनप्रतिनिधिहरु, बिभिन्न सरकारी तथा गैह्र सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु, बिभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरु, पूर्व प्रहरी कर्मचारीहरु, संचारकर्मी तथा  स्थानिय बासीहरुको बाक्लो उपस्थिति रहेको थियो ।