अर्जुनधारा ।
झापाको अर्जुनधारा नगरपालिकाले हात्तीपाइले रोग विरुद्धको आम औषधी ६८ हजार जनालाई सेवन गराउने लक्ष्य लिएको छ । भोली बिहीवारबाट शुरु हुने हात्तीपाइले रोग विरुद्धको आम औषधी सेवन कार्यक्रम आगामी फागुन २१ गतेसम्म सञ्चालन हुने अर्जुनधारा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतले जानकारी दिए ।
उनका अनुसार औषधी सेवन अवधिभर घर–घरमा गएर स्वास्थ्यकर्मीले औषधी खुवाइने छ । औषधी सेवन गराउनका लागि तालिम प्राप्त ३५ जना स्वास्थ्यकर्मी र ३५ जना स्वास्थ्य स्वयम सेविका परिचालन गरिने स्वास्थ्य शाखा प्रमुख बस्नेतले बताए ।
यसअघि दुई वटा औषधि सेवन गराइँदै आएकोमा यस पटक एउटा औषधि थपेर खुवाउन लागिएको उनले बताए । यसअघि दुई वटा औषधि कम्तीमा पाँच वर्षसम्म सेवन गर्नु पर्नेमा औषधि थप हुँदा दुई वर्ष मात्र औषधि सेवन गर्दा हुने उनको भनाई छ ।
यसअघि उमेरको आधारमा खुवाइदै आएको हात्तीपाइले रोगविरुद्ध औषधी यसबर्ष भने उचाईका आधारमा खुवाइने स्वास्थ्य शाखा प्रमुख बस्नेतले जानकारी दिए । अघिल्लो बर्ष अर्जुनधारामा हात्तीपाइले रोग बिरुद्धको औषधी ५९ हजार २३२ जनाले सेवन गरेका थिए ।
२ वर्ष उमेर नपुगेका बालबालिकाहरु, गर्भवती र सात दिन सम्मका सुत्केरी तथा सिकिस्त बिरामीहरु (कुनै कडा रोग लागि औषधि सेवन गरिरहेकाहरु, जस्तै क्यान्सर, मुटु रोगी, कलेजो रोगी, फोक्सोको दीर्घ रोगी), छारे रोगीहरु, २४ घण्टाभित्र ज्वरो आएको तथा कडा कुपोषण भएका पाँच वर्ष मुनिका बालबालिकाहरुले यो औषधि सेवन गर्न नहुने बताइएको छ ।