बिर्तामोड ।
झापामा हात्तीपाइले रोगविरुद्धको अभियान सफल बनाउन स्वास्थ्य कार्यालय झापाले पत्रकारहरुसँग अन्तरक्रिया गरेको छ । स्वास्थ्य कार्यालय झापाले सोमबार (आज) बिर्तामोडमा फागुन ११ गतेदेखि जिल्लामा हात्तीपाइले रोगविरुद्धको आम औषधी सेवन सम्बन्धि झापाका पत्रकारहरुसँग अन्तरक्रिया गरेको हो ।
यसबर्ष ९ लाख ९ हजार ५३७ जनालाई हात्तीपाइले रोगविरुद्धको औषधी सेवन गराउने स्वास्थ्य कार्यालय झापाले लक्ष्य लिएको छ ।
हात्तीपाइले रोगविरुद्धको औषधी खान हुने र नहुने समुह, औषधि सेवन गर्दा ध्यान दिनु पर्ने कुराहरु, रोगको परजिवी मुक्त हुन के गर्ने, रोगबाट बच्न कस्तो औषधी सेवन गर्ने र त्यसले के गर्ने, यस अघिको औषधी सेवनको अवस्था, यस बर्ष औषधी खुवाइने लक्षित संख्यालगायतका बिषयमा पत्रकारहरुसँग अन्तरक्रिया गरेको हो ।
झापामा दैनिक ज्यालादारी गर्ने मजदुर, दीर्घरोगी, केही जातीय समुदाय, निरक्षर दलित, शहरीबासी, उच्च वर्ग र सरकारी कर्मचारीहरुले कम औषधि सेवन गर्ने गरेको सर्वेक्षण क्रममा देखिएको स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटीले जानकारी दिए ।
यसअघि दुई वटा औषधि सेवन गराइँदै आएकोमा यस पटक एउटा औषधि थपेर खुवाउन लागिएको छ । यसअघि दुई वटा औषधि कम्तीमा पाँच वर्षसम्म सेवन गर्नुपर्नेमा औषधि थप हुँदा दुई वर्ष मात्र औषधि सेवन गर्दा हुने स्वास्थ्य कार्यालयले जनाएको छ ।
यसअघि उमेरको आधारमा खुवाइदै आएको हात्तीपाइले रोगविरुद्ध औषधी यसबर्ष भने उचाईका आधारमा खुवाइने जन स्वास्थ्य अधिकृत झापामा विश्वनाथ श्रेष्ठले जानकारी दिए ।
अन्तरक्रिया कार्यक्रममा बिर्तामोड नगर स्वास्थ्य शाखा प्रमुख राजिव विष्ट, बिर्तामोडका स्वास्थ्य फोकल पर्सन दीपक सापकोटाले बिर्तामोड नगरको औषधी सेवन सम्बन्धि जानकारी गराएका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ झापा अध्यक्ष एकराज गिरी, उपाध्यक्ष केशव भट्टराईलगायतको उपस्थिति रहेको थियो ।