बिर्तामोड ।   

१३ औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा महेन्द्ररत्न माध्यमिक विद्यालय बिर्ताबजार १२ वटा स्वर्णसहित प्रथम भएको छ ।बिर्तामोड नगरपालिकाको आयोजनामा शुक्रवार देखि सुरु भएको यस प्रतियोगितामा महेन्द्रज्योति माध्यमिक विद्यालय ६ स्वर्ण ८ कास्य पदक सहित दोश्रो र दर्गा माध्यमिक विद्यालय ६ स्वर्ण ३ कास्य पदक सहित तेश्रो भएको छ ।

विजेताहरुलाई शनिबार महेन्द्ररत्न माध्यमिक विद्यालयमा पुरस्कार वितरण गरिएको छ । उनीहरुलाई नगर प्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, शिक्षा शाखा प्रमुख तिलचन भण्डारी लगायतले शिल्ड, ट्रफी तथा प्रमाण पत्र प्रदान गरेका छन्।

विधागत खेलहरुमा भलिवल छात्र तर्फ  निधि मावि प्रथम, बाल्मिकी एजुकेशज फाउण्डेसन  द्वितिय र दुर्गा मावि तृतीय भएका छन् । यस्तै छात्रा तर्फ निधि मावि प्रथम, गोमेन्द्र मावि द्वितिय र बाल्मिकि एजुकेशज फाउण्डेसन तृतीय भएको छ ।

यस्तै एथ्लेटिक्स तर्फ महेन्द्ररत्न मावि प्रथम, महेन्द्र ज्योति मावि द्वितिय र दुर्गा मावि तृतीय भएका छन् ।यस्तै कवडी खेलमा छात्र तर्फ मोहनमाया मावि प्रथम, निदी मावि तृतीय भएका छन् भने छात्रा तर्फ दुर्गा मावि प्रथम, एजुकेशज फाउण्डेसन द्वितिय र मोहनमाया तृतीय भएका छन् । कराते तर्फका खेलहरुमा बाल्मिकी एजुकेशज फाउण्डेसन प्रथम, महेन्द्ररत्न मावि द्वितिय र महेन्द्र ज्योति मावि तृतीय भएका छन् ।

नगरपालिकाले भलिवल, एथ्लेटिक्स,करातेमा विद्यालय स्तरीय प्रतियोगिता गराएको हो । यस प्रतियोगिताबाट छनोटमा परेका खेलाडीहरु जिल्ला स्तिरीय  राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा सहभागि हुन पाउने छन् । पुरस्कार वितरण समारोहमा शिक्षक महासंघका नगरअध्यक्ष युवराज कट्टेल, नेपाल शिक्षक संघका झापा अध्यक्ष नेत्रप्रसाद खरेलको पनि उपस्थिति रहेको थियो ।