मेचीनगर । 

झापाको मेचीनगर १० स्थित आम्दा मेची अस्पतालमा २२ लाख बढी मुल्य बराबरको स्वास्थ्य उपकरण थपेको छ । अस्पताललाई सुविधा सम्पन्न बनाउँदै स्वास्थ्य सेवा थप प्रभावकारी बनाउन मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीको पहल तथा आम्दा नेपाल अस्पतालको सहयोगमा शुक्रबार आम्दा मेची अस्पतालमा नयाँ उपकरण भित्र्याइएको हो ।

गत साउन ११ गते मेचीनगर प्रमुख बुढाथोकी, संविधान सभा सदस्य रविन कोइराला, मेची उद्योग वाणिज्य संघका तत्कालिन अध्यक्ष ऋृषि तिम्सिनालगायतको टोली काठमाडौं गई आम्दा नेपालका प्रमुखहरुसँग भेटेर अस्पताल व्यवस्थित बनाउँदै मेचीनगर क्षेत्रमा प्रभावकारी स्वास्थ्य सेवा प्रवाह गर्ने बिषयमा छलफल गरेको थियो । त्यही छलफलबाट १५ शैयाको अस्पताललाई निकट भविष्यमा नै ५० शैयामा स्तर बृद्धि गर्ने उदेश्य अगाडी बढाइएको थियो ।

थप उपकरणहरुमा २० लाख मुल्य बराबरको युएसजी मेसिन, तथा २ लाख बराबरको माइनर ओटीका सामाग्री र एएनसी चेकअपका लागि आवश्यक उपकरण रहेको अस्पताल प्रशासनले जनाएको छ । उपकरण थपसँगै अब माइनर ओटी, एएनसी चेकअपलगायतका सेवाहरु पनि उपलब्ध हुनेछन् ।