गौरादह । 

झापाको गौरादह नगरपालिका वडा नम्बर ९ मा एक दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।सहयोगी मनहरु नेपालको आयोजनामा जिल्लाको दक्षिणी भेगमा  आँखा शिविर भएको हो । बलभद्र आधारभूत विद्यालयमा भएको शिविरलाई गौरादह नगरपालिकाका नगर प्रमुख छत्रपति सुवेदीले आँखा जाँच गरेर उद्घाटन गरेका थिए । 

शिविरमा २ सय ४६ जनाले सेवा लिएको र उनीहरुलाई आँखा जाँच र औषधी निःशुल्क गरीएको  संस्थाका महासचिव विष्णु उप्रेतीले जानकारी दिए । चश्मा लगाउनु पर्ने भए २ सय रुपैयाँ लिएर चिकित्सकको सल्लाह अनुसारको चश्मा प्रदान गरिएको जनाइएको छ । चेक जाँचमा ६ जनाको शल्यकृया गर्नु पर्ने अवस्था देखिएको जनाइएको छ ।

शिविरमा मेची आँखा अस्पताल बिर्तामोडको प्राविधिक सहयोग गरेको थियो भने शिविरमा जेष्ठ नागरिकसँगै बालबालिका तथा वयस्क उमेर समुहकाहरु पनि आँखा परीक्षण गराउन आएका थिए ।

त्यहाँ आउने अधिकांशमा आँखा चिलाउने, दुख्ने, पाक्ने, सुन्नीने, मोतियाबिन्दु जस्ता समस्या देखिएको शिविरमा सहभागी आखा रोग विषेशज्ञ डा. पुष्प अधिकारीले बताए । गाउँका बासिन्दालाई सहज स्वास्थ्य सुविधा दिनका लागि गाउँमै स्वास्थ्य शिविर आयोजना गरिएको  सहयोगी मनहरु नेपालका अध्यक्ष भीम आचार्यले  बताए।