बिर्तामोड । 

झापाको बिर्तामोडमा जनस्तरबाट ‘नागरिक सामुदायिक अस्पताल’ को निर्माण कार्य सुरु भएको छ । स्वास्थ्यमा विपन्न नागरिकको पहुँच बढाउने उद्देश्यले अस्पतालको निर्माण कार्य थालिएको हो । नागरिक स्वास्थ्य सहकारी संस्थामार्फत अस्पतालको निर्माण कार्य अगाडि बढाइएको छ । बिर्तामोड–४ मा लिइएको साढे १० कठ्ठा भाडाको जग्गामा भूकम्पप्रतिरोधी भवन निर्माण भइरहेको अस्पतालका कार्यकारी प्रमुख कृष्णप्रसाद पौडेलले बताए ।

‘सेवाभन्दा पनि नाफामुखी उद्देश्यले सञ्चालन भएका अस्पतालको तुलनामा नागरिक अस्पतालले सहुलियतमा उपचार सेवा उपलब्ध गराउने नीति लिएको छ’, कार्यकारी प्रमुख पौडेलले भने, ‘बिर्तामोडका अगुवा यो अस्पताल निर्माणका लागि खटिनु भएको छ ।’ ५० बेड क्षमताको लक्ष्य राखेर साढे पाँच करोड रुपैयाँको लागतमा अस्पताल भवन निर्माण भइरहेको हो । पूर्वाधारबाहेक चिकित्सकीय उपकरण खरिदमा थप रकम खर्च हुनेछ । ‘आफ्नो अस्पताल आफैँ बनाउँछौँ’ भन्ने मुख्य नारासहित भवन निर्माण थालिएको हो ।

भवन निर्माणमा बिर्तामोडका अगुवाले चासो दिँदै लगानी जुटाइरहेका छन् । नागरिक तहबाट भवन निर्माणका लागि शेयर लगानी भइरहेको कार्यकारी प्रमुख पौडेलले बताए । ‘स्वतस्फूर्त जनस्तरबाट शेयर खरिद भइरहेको छ’, पौडेलले भने, ‘राम्रो कामका लागि पैसा जुटाउन समस्या नहुँदो रहेछ ।’ बिर्तामोडमा रहेका प्रारम्भिक सहकारी संस्थाले पनि अस्पताल निर्माणमा शेयर लगानी गरिरहेका छन् ।

सहकारी संस्थाहरु समेतको लगानीमा निर्माण भइरहेको अस्पतालमा प्रारम्भिक चरणमा सातजना विशेषज्ञ राखेर उपचार सेवा सुरु गर्ने लक्ष्य राखिएको छ । स्वास्थ्य सेवा खर्चिलो बन्दै गइरहेका बेला नागरिक आफैँ अस्पताल निर्माणमा जुटेका हुन् । सहुलियतमा गुणस्तरीय सेवा उपलब्ध गराउने दीर्घकालिन नीतिसहित निर्माण भइरहेको अस्पताल सर्वसाधारणको पहुँचमा हुनेछ ।

प्रदेश १ का कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाले निर्माणाधीन नागरिक अस्पतालको अवलोकन गरेका छन् । मन्त्री सिटौला शुक्रबार विहान अस्पताल अवलोकनमा गएका हुन् । कार्यकारी प्रमुख कृष्णप्रसाद पौडेलले निर्माणाधीन अस्पतालको विषयमा मन्त्री सिटौलालाई विस्तृतमा ब्रिफिङ गरेका छन् । नागरिकलाई आफ्नो अस्पताल हो भन्ने अपनत्व महशुस गराउने ढंगबाट अस्पताल निर्माण भइरहेको उनले बताए ।

‘कोरोना महामारीको समयमा पैसा नहुने नागरिक स्वास्थ्य सेवाबाट बञ्चित भएको कहालीलाग्दो अवस्थाले अस्पताल निर्माणका लागि प्रेरणा दिएको हो’, पौडेलले भने, ‘नागरिकको आफ्नै अस्पताल भयो भने मात्रै अब स्वास्थ्य सेवामा पहुँच बढ्छ ।’ मन्त्री सिटौलाले स्वास्थ्य क्षेत्रमा सहकारीको आवश्यकता बढ्दै गएको भन्दै शिक्षा र स्वास्थ्य क्षेत्रलाई सबैको पहुँचमा पुर्याउन सहकारीको माध्यमबाट अगाडि बढाउनु पर्ने आवश्यकता औँल्याए । नागरिक स्वास्थ्य सहकारी संस्थाका नवनिर्वाचित अध्यक्ष युवराज दाहालले मन्त्री सिटौलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।

अवलोकनका क्रममा सहकारी संस्थाका उपाध्यक्ष डा। प्रमोदकुमार साह, सचिव रविन्द्र भट्टराई, कोषाध्यक्ष जीवनकुमार खड्का, सदस्यहरु शर्मिला शाक्य, राजेश दाहाल, दीपक पोखरेल, आनन्द गुरुङ, लेखा समिति संयोजक नरेन्द्र गुरागाई, सदस्य लक्ष्मीप्रसाद सापकोटा, सल्लाहकार राजकुमार पोखरेल, बिर्तामोड नगरपालिकाका अधिकृत मेघराज बास्तोला, राप्रपाका युवा नेता ध्रुव उप्रेतीलगायतको सहभागिता रहेको थियो ।