बिर्तामोड । 

झापाका १५ वटै स्थानीय तहका ६६ जना बिद्यार्थीलाई छात्रबृत्ति वापतको रकम वितरण गरिएको छ । झापाली समाज युएसए र झापा विकास मञ्च काडमाडौंको साझेदारीमा जिल्ला सहकारी संघ झापाले छात्रबृत्ति वितरण गरेको हो । 

संघ अध्यक्ष गणेश ढकालको अध्यक्षतामा भएको कार्यक्रममाप्रमुख अतिथि प्रदेश नं. १ का उद्योग कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाले उपस्थित बिद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेका थिए भने अनुपस्थिति बिद्यार्थीलाई सम्बन्धित सहकारीको खातामा जम्मा गरिएको गरिएको बताइएको छ ।  उक्त छात्रबृत्ति बापत कक्षा १२ सम्म अध्ययनका लागि प्रत्येक बर्ष २१ हजार रुपैयाँ प्रदान गरिने र यस बर्षको दोस्रो किस्ता बापतको रकम बिद्यार्थीलाई हस्तान्तरण गरिएको हो । 

स्वागत संघकी उपाध्यक्ष चम्पादेबी खनालले गरेको कार्यक्रममा झापाली समाज युएसएका मुकुन्द ढुङ्गानाले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै कक्षा १२ सम्म बिद्यार्थीलाई छात्रबृत्ति ब्यवस्थित गर्न सके पैसाको कमी नहुने बताएका छन् । 

कार्यक्रमका प्रमुख अतिथि सिटौलाले शिक्षा बिना राजनीतिक सफल नहुने बताउँदै राजनीतिक गर्ने मान्छेले सवैभन्दा बढि ध्यान शिक्षामा दिनु पर्नेमा जोड दिए । सोही कार्यक्रमकाबिच संघले मन्त्री सिटौलालाई सम्मान समेत गरेको थियो । 

कार्यक्रमको सञ्चालन संघका सह–सचिब कृष्णप्रसाद मिश्रले गरेका थिए ।