काठमाडौं ।

 मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइल बिहीवार (आज) नेपाल आउने भएका छन्। मलेसियाले नेपाली श्रमिक लैजाने विषयमा नेपाल सरकारसँग छलफल गर्ने भएको हो। शुक्रबार बिहान १० बजेदेखि श्रम मन्त्रालयको टोलीसँग यस विषयमा छलफल हुने भएको छ। गृहमन्त्री इजमाइल १५ सदस्यीय टोलीको नेतृत्व गर्दै नेपाल आउन लागेको श्रम मन्त्रालयले जनाएको छ । 

मलेसियाका गृह मन्त्रीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालसँग छुट्टा छुट्टै भेटवार्ता गर्नेछन्। मलेसियाले खासगरी नेपाली सुरक्षा गार्ड लैजाँदै आएको छ। उनीहरुलाई नेपालमै तालिम दिने विषयमा गृह मन्त्रीसँग छलफल हुनेछ। मलेसियाले नेपालमै सुरक्षागार्डको तालिम दिने विषयमा पनि नेपाल सरकारसँग छलफल गर्नेछ।

यस्तै यसअघि नेपाल र मलेसियाबीच भएको श्रम सम्झौताको विषयमा पनि दुई देशबीच छलफल हुने भएको छ।  मलेसियामा कार्यान्वयनमा रहेको सामाजिक सुरक्षाको कार्यक्रममा नेपालीलाई पनि अनिवार्य समेट्न माग गर्ने भएको छ। 

म्यानपावर व्यवसायीले पनि मलेसियाको टोलीसँग भेट्न खोजिरहेका छन्। व्यवसायीले भने मलेसियासँग यसअघि सरकारले गरेको सम्झौताको पुनरवलोकनको माग गर्ने भएका छन्। मलेशियाले हालै श्रम बजारमा ५ लाख श्रमिक भित्र्याउने जनाएको छ ।