झापा । 

आज विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी सरस्वती पूजा गरिदैछ ।   विद्या आर्जन गर्नेहरूले यो दिन सरस्वतीको विशेष पूजा अर्चना गर्ने गर्छन्।

माघ शुक्ल पक्ष पञ्चमी तिथि, श्रीपञ्चमी वा वसन्तपञ्चमी यस दिन विद्यार्थीले पुस्तक र कलम, कलासाधकले कला सामग्री तथा संगीत साधकले वाद्ययन्त्रको पूजा गरी सरस्वतीको आराधना गर्ने गरेका छन् । 

आज झापासहित देशभरका बिद्यालयमा बिद्यार्थीले बिद्याकी देबी सरस्वतीको पूजा आराधना गरी मनाउँदै छन् । आजको दिन साना बालबालिकालाई अक्षरारम्भ वा विद्यारम्भ गराउने चलन पनि छ।

सेतो वस्त्रमा सुशोभित, चार हातमा स्फटिकको माला, वीणा र पुस्तक लिएर पद्मको आसन बनाएकी, शान्त स्वरूपकी भगवती सरस्वतीले सदा सर्वदा बुद्धि–विद्या प्रदान गरुन् भन्ने विद्यार्थीको कामना हुन्छ। अमरकोशमा देवी सरस्वतीलाई ब्राह्मी, भारती, भाषा गीः वाक्, वाणी आदि नामले चिनाइएको छ। शारदा, श्री आदि नामले पनि सरस्वतीको आराधना गरिन्छ।

पुराणमा सरस्वतीको उत्पत्तिबारे विभिन्न कथा आउँछ। सृष्टिकर्ता ब्रह्माजीले आफ्नो शरीरलाई आधा गरी सरस्वतीको उत्पत्ति गरेको प्रसंग प्रख्यात छ। यस्तै अर्को प्रसंगमा ब्रह्माजीको मुखबाट उत्पत्ति भएको उल्लेख छ। त्यसैले पनि सरस्वतीलाई वाग्देवी (वाक् देवी) भनिन्छ। श्रीपञ्चमीका दिन वसन्त श्रवण गर्ने पनि परम्परा छ।