सुरुङ्गा । 

झापाको कनकाई नगरपालिका वडा नम्बर ३ मा सञ्चालित हेप्पी ल्याण्ड फनपार्क एण्ड रिसोर्ट प्रालिका सञ्चालक दिनेश शिवाकोटीले मितेरी डेभलपमेन्ट बैंक लिमिटेड शाखा सुरुङ्गाले बदनाम गरेको आरोप लगाउँदै आपत्ति जनाएका छन् । 

बैंकले आफुले ऋणबापत लिएको रकम पनि चुक्ता गर्न नदिने र दुईदिन ब्याज तिर्न ढिलो हुँदा पनि पत्रिकामा सूचना प्रकाशन गरेर आफ्नो बदनाम गर्न खोजेको आरोप लगाएका हुन् ।  केहीदिन अघि सावा रकम बुझाउन खोज्दा बैंकले लिन मानेन’ सञ्चालक शिवाकोटीले भने ‘त्यतीबेला ब्याज मात्र बुझाउन बैंकले आग्रह गर्यो ।’ 

सञ्चालक शिवाकोटीले आफुले अर्को बैंकमा पनि कारोबार गर्न थालेपछि बद्नाम गर्ने नियतले बैंकले फोटोसहितको पत्रिकामा सूचना प्रकाशन गरेको आरोप लगाएका छन् । 

फन पार्कका ब्यवस्थापक नितेश ओलीले मंगलबार (आज) झापाको सुरुङ्गामा पत्रकार भेटघाट गरी गत माघ ३ गते बैंकलाई ब्याजबापतको एक लाख ५० हजार रुपैयाँ जम्मा गरिसकेको भौचार देखाउँदै बैंकले बद्नाम गर्ने नियतले फोटोसहितको सूचना पत्रिकामा निकालेको आरोप लगाएका छन् । 

१० बर्षका लागि भनेर लिएको ऋण ५ बर्षमै तिरिसक्दा पनि बैंकले करिब ५० लाख रुपैयाँ कमिशन मागेको र त्यो रकम दिएपनि पछि आधा रकम बैंकले फिर्ता गरेको सञ्चालक शिवाकोटीले बताए । 

यता बैंकका कर्जा प्रमुख विशाल श्रेष्ठका अनुसार  बैंकले नेपाल राष्ट्र बैंकको नियमानुसार नै लेनदेनको बिषयमा पत्रिकामा सूचना प्रकाशन गरेको हो । उनले कशिसन भन्दा पनि राष्ट्र बैंककै नियमानुसार करिब ४० लाख रुपैयाँ लिएपनि पर्यटन सम्बन्धि ब्यवसाय भएकाले नेपाल राष्ट्र बैंकले फिर्ता गर्न निर्देशन दिएपछि आधा  रकम फिर्ता गरेको बताएका छन् ।