• रन्जित परियार 

बुट्टाबारी । 

महेश्वरी महिला मञ्च मेचीले जाडोका लागि बिद्यार्थीलाई न्यानो सुईटर तथा स्कुल जुत्ता बितरण गरेको छ । बन्दी सहायता नेपालद्वारा संचालित मनमाया आमा बालगृह र जुनकीरी सार्वजनिक प्राथमिक बिद्यालय अर्जुनधारा ११ का ९५ जना विद्यार्थीहरुलाई मञ्चले अति आवश्यक ४६ जनालाई सुइटर र ९५ जनालाई जुत्ता मोजा बितरण गरेको हो ।

 चिसो बढेसँगै बालबालिकाहरुलार्इ स्कुल आउन गार्‍हो भएको प्रधानाध्यापक रन्जित परियारले आह्वान गरेपछि महिला मञ्चले आफ्नो समुहबाट संकलित रकमबाट सुइटर ,जुत्ता मोजा र खाद्यान्न बितरण गरेको हो । त्यसैगरी यही बर्ष सरस्वती मन्दिर समेत निर्माण गरिदिने र अति आवश्यक अन्य केहि समस्या भए पूर्ण गरिदिने महिला मञ्चकी अध्यक्ष रिता चित्लाङ्गियाले जानकारी गराइन् । 

कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य इन्दिरा रानाले महेश्वरी महिला मञ्च संस्थाले बालमैन्त्री बिद्यालय बनाउन साझेदारी कार्यक्रम ल्याएको भन्दै धन्यवादसहित प्रशंसा पत्रले सम्मान गरिएको थियो ।

कार्यक्रममा अतिथि बिद्यालय ब्यवस्थापन समिति सस्थापक अध्यक्ष जगतबहादुर मगर, महारानीगन्ज माबि अध्यक्ष बोलप्रसाद कोइराला, जनप्रतिनिधि सुशीला गिरी, समाज कल्याण परिषद बोर्ड सदस्य गोमा भुसाल, महेश्वरी समाज मञ्च मेचीका अध्यक्ष महेश चितलायिया लगायतले बालबालिकाहरु प्रतिको सहयोग र सराहनीय सेवाप्रति मारवाडी महिलाहरुको समुहलाई धन्यवाद तथा शुभकामना व्यक्त गरेका थिए । 

कार्यक्रममा स्वागत तथा कार्यक्रमको औचित्य माथि प्रकाश मञ्चकी सास्कृतिक सचिब रुचि झन्वर र सहजीकरण सचिब सुधा अटल तोसनिवालले गरेका थिए ।