सुरुङ्गा । 

झापाको सुरुङ्गामा प्रदेश नं.१ स्तरीय अन्तरपालिका पुरुष भलिबल प्रतियोगिताको उद्घाटन खेलमा दमक नगरपालिका विजयी बनेको छ।

सुरुङ्गा जेसीजले कनकाई भलिबल कपको तेस्रो संस्करणका रुपमा संचालन गरेको प्रतियोगिताको उद्घाटन खेल दमक र भद्रपुर नगरपालिका विच भएको थियो । खेलमा दमकले २५/१५, २७/२५ र २८/२६ को सोझो सेटमै भद्रपुरलाई हराँउदै खेलको विजेता बनेको हो । दमकका रोमन बस्नेत खेलको म्यान अफ द म्याच घोषित भए ।

नकआउट प्रतियोगिताका आधारमा खेलाइने खेलमा प्रथम हुने टिमले १ लाख १ हजार १११ , द्वितीय हुने टिमले ६१ हजार १११ र तृतीय हुने टिमले २५ हजार नगद पुरस्कार, ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन् । त्यस्तै बेष्ट स्पाइकर , बेष्ट ब्लकर , बेष्ट डिफेन्स र बेष्ट क्वीकरलाई ५ हजार १ सय नगद पुरस्कार र ट्रफीको व्यवस्था गरिएको बताइएको छ । त्यस्तै म्यान अफ द सिरिजलाई २४ इन्चको रंगीन टि.भी पुरस्कार स्वरुप वितरण गरिने सुरुङ्गा जेसीज वर्ष २०२२ का महासचिव राजु पाठकले जानकारी दिए ।

 माघ ३ गते सुरु भइ ७ गते समापन हुने प्रतियोगितामा कनकाई नगर खेलकुद विकास समिति सह–आयोजकका रुपमा रहेको छ । प्रतियोगितामा झापासहित मोरङ् र इलाम गरी तीन जिल्लाका ८ टीमले भाग लिएका छन् । विगतमा सुरुङ्गा गोल्ड कप फुटबल प्रतियोगिता संचालन गरेर चर्चा कमाएको जेसीजले अब भलिबल खेललाई निरन्तरता दिने भएको छ ।

सुरुङ्गा जेसीज वर्ष २०२२ की अध्यक्ष सुष्मा न्यौपाने उप्रेतीको सभापतित्व एवं कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्य रहेको उद्घाटन समारोहमा कनकाई नगरपालिकाकी उपप्रमुख आशा शिवाकोटी, कनकाई ३ का वडाअध्यक्ष युवराज चम्लागाईँ, नेपाली कांग्रेसका नगर सभापति दुर्गा प्रसाईँ, रोटरी क्लव अफ सुरुङ्गाका अध्यक्ष खेम प्रसाईँ लगायतले खेलको सफलताको कामना गरेका थिए । प्रतियोगिताको बुधबार हुने खेल बेलबारी र झापा गाउँपालिका विच हुने आयोजक समितिका खेल संयोजक प्रतापबाबु जमरकट्टेलले बताए ।