झापा । 

कर्णाली बचत तथा ऋण सहकारी संस्थाले दैबी प्रकोप वा बिपत्तिमा परेका शेयर सदस्य तथा गैर सदस्यलाई संस्थाको जीवन तथा आवास सुबिधा कोषबाट राहत सुबिधा उपलब्ध गराएको छ ।

झापाको हल्दिबारी गाउँपालिका–४ मंगलबारे बजारस्थित पूर्व गाउँमा भएको आगलागीमा पिडित बनेका संस्थाका चारजना शेयर सदस्य र दुईजना गैर सदस्यलाई राहत उपलब्ध गराएको हो । 

गत पुस २२ गते राती अज्ञात समुहद्धारा ७ वटा धानको कुन्यु र एउटा परालको माचमा आगलागी भएको थियो । आगालागी हुँदा कर्णाली साकोसका शेयर सदस्य मिना सोरेन, मालती मुर्मु, सिता टुडु र बडाराम हेमरम साथै गैर सदस्य मराङ्गमई मुर्मु र दिनेश हास्दाले अधिया गरेर बर्षभरीका लागि थन्काएको धानका कुन्यू जलेर नष्ट भएको थियो । 

स्थानीय सरकार, प्रदेश सरकार र जनप्रतिनिधिले समेत कुनै राहत उपलब्ध नगराएको अवस्थामा बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको कर्णाली साकोसले मंगलबारे सेवा केन्द्र मार्फत राहत उपलब्ध गराएको सामाजिक अभियन्ता तथा कर्णाली साकोसका सचिव भूपाल बस्नेतले जानकारी दिए । संस्थाका शेयर सदस्यलाई जनही १० हजार र गैर सदस्यलाई जनही ५ हजार रुपैयाँका दरले संस्थाले राहत सुबिधा उपलब्ध गराएको जनाइएको छ । 

राहत वितरण कार्यक्रममा सामाजिक अभियन्ता तथा साकोसका सचिव भूपाल बस्नेत, ब्यवस्थापन उप–समितिका संयोजक दीपक मैनाली, सदस्य लखन हेमरम, हरिप्रसाद रेग्मी, सेवा केन्द्र प्रमुख प्रकाश काफ्लेसहित कर्मचारीहरु, गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी मैनाली, वडा नं. ४ का वडाध्यक्ष सन्तकुमार थापा मगर, पूर्व वडाध्यक्ष होम चुडाललगायतको उपस्थिति रहेको जनाइएको छ । साकोसले हिजो (बिहीवार) राहत सुबिधा उपलब्ध गराएको सचिव बस्नेतले जनाएको छन् ।