बिर्तामोड ।
झापा बिर्तामोड–४ को गोमेन्द्र बहुमुखी महाबिद्यालयले मास्टर अफ बिजनेस एड्मिस्टेशन (एमबिए) र मास्टर अफ कम्प्युटर एप्लिकेशन (एमसीए) स्नातकोत्तर तहको कक्षा सञ्चालन गर्ने भएको छ ।
महाबिद्यालयले शनिवार (आज) क्याम्पसमा पत्रकार सम्मेलनको आयोजना गरी शैक्षिक सत्र २०७९/०८० देखि स्नातकोत्तर तहको एमबिए र एमसीएको कक्षा सञ्चालन गर्ने जानकारी दिएको हो ।
झापा, इलाम, ताप्लेजुङ र पाँचथर जिल्ला भरीमै पहिलो पटक स्नातकोत्तर तहको एमबिए र एमसीएको कक्षा सञ्चालन गर्ने पहिलो महाबिद्यालय गोमेन्द्र भएको महाबिद्यालयका प्राचार्य डा. रुपकप्रसाद खनालले जानकारी दिए । पूर्वाञ्चल विश्वबिद्यालयबाट सम्बन्धन प्राप्त गोमेन्द्र महाबिद्यालयले स्नातकोत्तर तहको एमबिए र एमसीएको कक्षा यसै बर्षदेखि सञ्चालन गर्ने डा. खनालले बताएका छन् ।
स्नातकोत्तर तहको बिभागीय प्रमुखमा प्राचार्य डा. पृथ्बी राई रहेको जनाइएको छ । प्राचार्य डा. राईको नेतृत्वमा एमबिएतर्फ बिमल राजवंशी र एमसीएतर्फ सुनिल शर्माको संयोजकत्वमा कक्षा सञ्चालन हुने डा. खनालले बताए । पिएचडी र एमफिल गरेका अध्यापकहरुबाट अध्यापन गराइने जनाइएको छ ।
एउटा संकायमा ३३ जना रहने एमबिए र एमसीएमा ३३ जना बिद्यार्थी मध्ये तीन जनालाई छात्रबृत्ति पूर्वाञ्चल विश्वबिद्यालले छुट्याउने डा. खनालले बताए । डा. खनालका अनुसार २ बर्षको कोर्ष रहने एमबिए र एमसीएको लागि ३ लाख ५० हजार रुपैयाँ शुल्क लाग्नेछ ।
पत्रकार सम्मेलनमा शिक्षासेवी तथा महाबिद्यालयका संस्थापक अध्यक्ष गणेशप्रसाद खनालले कृषि शिक्षा सम्बन्धि जोड दिनु पर्ने बताएका छन् । पत्रकार सम्मेलनमा महाबिद्यालयकी संस्थापक बुध खनाल, उप–प्राचार्य शरु खनाललगायतको उपस्थिति रहेको थियो । सोहि क्रममा प्राचार्य डा.खनालको जन्मोत्वसवसमेत केक काटेर मनाइएको थियो ।
२०५३ सालमा स्थापना भएको महाबिद्यालयले शुरुका बर्षमा उच्च माध्यमिक शिक्षा परिषदबाट स्वीकृति लिएर कक्षा ११ र १२ सञ्चालन गर्दै आएको थियो । पत्रकारिता तथा कम्प्युटर बिज्ञानको कक्षा पूर्वाञ्चलमै पहिलो पटक शुरु गरेको महाबिद्यालयले पूर्वमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ । २०५६ सालमा बिज्ञान तथा प्रबिधि संकायतर्फ बिसिए र २०६२ सालदेखि ब्यवस्थापन संकायतर्फ बिबिए पठनपाठन शुरु गरी प्राविधिक तथा ब्यावसायिक जनशक्ति उत्पादन गर्दै आएको छ ।