बिर्तामोड ।
ताप्लेजुङ सिरिजङ्गा गाउँपालिका घर भई हाल बिर्तामोड–५ बस्दै आएकी ४२ बर्षिया रमा भट्टराई (राम प्यारी) अहिले अस्पतालको बेडमा आर्थिक अभावका कारण छट्पटाइरहेकी छिन् । झापाको बिर्तामोड स्थित पूर्ण टुङ्ग बिर्ता सिटी अस्पतालमा उपचार भइरहे पनि आर्थिक अभाब भएपछि उनी अस्पतालमा छट्पटाउन बाध्य भएकी हुन् ।
९ बर्ष अघि घर छोडेर हिंडेका उनका श्रीमानको अहिले सम्म अत्तोपत्तो छैन । तीन छोरी र एक छोराकी आमा भट्टराई अहिले उपचारका लागि सबैसँग हार–गुहार गरिरहेकी छिन् । उनी ज्यालादारीमा अलैंची कटिङ गरेर आफ्नो छोराछोरीको पठाई खर्च सँगै घर चलाउंदै आएकी थिइन् । तर, उनी अहिले थलिएसँगै छोराछोरीको पठाई र घर खर्चमा समस्या भएको छ । उनी करीब ४ –५ बर्षदेखि बिरामी छिन् ।
उनी बिर्तामोड ५ स्थित व्यवसायी तथा समाजसेवी निर्मल भट्टराईको घरमा बस्दै आएकी छन् । उनको दयनीय अवस्था देखेर निर्मलले निःशुल्क रुपमा करीब ६ बर्षदेखि एउटा कोठा उपलब्ध गराउंदै आएका छन् । काम गर्न नसक्ने अवस्थामा रहेकी उनी अहिले थलिएसँगै आफुलाई बचाइदिन उनले अस्पतालको शैयाबाट सबैलाई आग्रह र अनुरोध गरेकी छन् ।
व्यवसायी तथा समाजसेवी निर्मलका अनुसार सबै साथीभाई सहित आफन्तहरुले सहयोग जुटाएर अहिलेसम्म उनको उपचारमा झण्डै १५ लाख रुपैयाँ खर्च भइसकेको छ । चिकित्सकको भनाईलाई उद्धत गर्दै भट्टराईको आफन्त शान्ता विष्टका अनुसार केहि बर्ष अघि उनको टाउकोमा ब्लड जमेको थियो । त्यसको उपचारका लागि उनलाई बिराटनगर लगिएको थियो ।
उनको त्यो समस्या निर्मुल भए पनि अहिले उनलाई फोक्सोमा समस्या तथा मुटुमा प्वाल रहेको र दांया पट्टिको ब्रेनको एउटा नसा सुकेको र कोलस्टोर पनि ४५० भन्दा माथि पुगेको चिकित्सकले बताएका छन् । बिष्टका अनुसार चिकित्सकले उनको उपचारका लागि अहिले मोटो रकम लाग्ने बताएका छन् ।
उनलाई क्यानसर नभए पनि फोक्सोमा गांठाहरु रहेको चिकित्सकले बताएका छन् । उनका केहि रिपोटहरु आउन बाँकी रहेको बताइएको छ । पैसाको जोहो गर्न सके उनी चांडै सामान्य अवस्थामा फर्कन सक्ने चिकित्सकले बताएका छन् । अहिले सम्पत्तिका नाममा उनको केहि पनि छैन ।
रामप्यारीको उपचारका लागि सहयोग गरिदिन उनका आफन्तले आग्रह गरेका छन् । सहयोगका लागि बिरामी भट्टराईको छोरी मनुका भट्टराईको नाममा एनआइसी एसीया बैंक बिर्तामोड शाखामा रहेको खाता नम्बर ००९५७५११८९१६०००१ मा रकम जम्मा गर्न सकिने परिवारले जनाएको छ । त्यस्तै उनको उपचारमा आर्थिक सहयोग गर्न चाहनेले उनको छोरीको मोवाईल नम्बर ९८१८६७४६५४ मा सम्पर्क गरी आवश्यक सहयोग समेत गर्न सक्नेछन् ।