झापा । 

झापा । वैदेशिक रोजगारीमा कतार पठाइदिने भन्दै करिब २ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले सोमबार झापाका एक जनालाई पक्राउ गरेको छ । ठगीको आरोपमा झापाको धुलाबारी घर भई हाल काठमाडौंको कीर्तिपुर बस्दै आएका ३२ वर्षीय हेमसागर भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो । 

 वैदेशिक रोजगारीमा पठाइदिने भन्दै रकम लिएर सम्पर्कविहीन भएपछि पीडितले वैदेशिक रोजगार विभागमा दिएको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई पक्राउ गरेको हो । 

भण्डारीले समीर तामाङलाई कतारको प्रतिष्ठित कम्पनीमा महिनाको एक लाखभन्दा बढी कमाइ हुने काम दिलाइदिने भन्दै एक लाख ७२ हजार रुपैयाँ लिएको खुलेको प्रहरीले जानकारी दिएको छ । विभागले भण्डारीलाई थुनामा राखेर अनुसन्धान गर्न वैदेशिक रोजगार न्यायाधिकरणबाट अनुमति लिएर थुनामा राखेको जनाएको छ ।