लक्ष्मीपुर । 

झापाको अर्जुनधारा–५ लक्ष्मीपुरस्थित बिहीवारे बजारमा मुख्य कार्यालय रहेको पाण्डब बचत तथा ऋण सहकारी संस्थाले १० औं बार्षिक साधारण सभामा प्रमुख अतिथिलाई नै सम्मान गरेको छ ।  

संस्थाका अध्यक्ष पुष्पबहादुर घलेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि रहेका अर्जुनधारा नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष गीताराज खड्का (हरि) लाई सम्मान गरिएको हो । 

संस्थाले साधारणसभाका क्रममा संस्थाका जेष्ठ शेयर सदस्य तीलामाया कार्की, असल ऋणि रुपा वर्देवा, असल बचतकर्ता तुलसा कार्की, उत्कृष्ट बिद्यार्थी सन्ध्या थापा, संस्थापक अध्यक्ष अर्जुन रेग्मी, वडाध्यक्ष गीताराज खड्का (हरि), कनकाई –८ का वडाध्यक्ष लीलाबहादुर कटुवाल र उत्कृष्ट कर्मचारीका रुपमा भिमा भट्टराईलाई सम्मान गरेको संस्थाका सल्लाहकार इन्द्रमणि पौडेलले जानकारी दिए । 

कार्यक्रममा दहीझोडा सावउसका अध्यक्ष टेकनाथ अधिकारी, बागेडाँगी त्रिवेणी सहकारीका अध्यक्ष छबिलाल लम्साललगायतको उपस्थिति रहेको थियो । संस्थाका उपाध्यक्ष सीता सापकोटाले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिब देबराज बुढाथोकीले गरेका थिए ।

आर्थिक बर्ष २०७८/०७९ असार मसान्तसम्म ८ सय ४६ जना शेयर सदस्य रहेको संस्थाको शेयरपुँजी १ करोड ४ लाख २८ हजार ७०० रुपैयाँ रहेको संस्थाका अध्यक्ष घलेको प्रतिवेदनमा उल्लेख छ ।