मेचीनगर।
मागुरमाडीका एकसय जना स्थानीय मुटु रोगको समस्याबाट पीडित रहेको पाइएको छ । मेचीनगर–९, मागुरमाडी स्थित हरि आधारभूत निमाविमा आयोजित मुटु रोग सम्बन्धी एकदिने निःशुल्क स्वास्थ्य शिविरमा सेवा लिने स्थानीय महिला र पुरुष मध्ये एकसय जनामा मुटु रोगको समस्या देखिएको हो ।
शिविरमा सेवा लिएका एकयस जना मध्ये दुई महिलासहित ५ जनालाई तत्काल मुटुको शल्यक्रिया गर्न डाक्टरले सल्लाह दिएका छन् ।नारी कल्याणकारी विकास संस्थाको आयोजना तथा बीएण्डसी अस्पताल बिर्तामोडको प्राविधिक सहयोग भएको स्वास्थ्य शिबिरको उद्घाटनको मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकीले गरेका थिए ।
शिविरमा मुटुको ईसिजि, प्रेसर, सुगर जाँचका साथै औषधि समेत निःशुल्क प्रदान गरिएको संस्थाकी सचिव लक्ष्मी श्रेष्ठले जानकारी दिइन् । शिविरमा जम्मा तीनसय जनाले सेवा लिएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि मेयर बुढाथोकी, बिएण्डसी अस्पतालका जनसम्पर्क प्रमुख प्रमिश गिरी लगायतले बोलेका थिए ।नारी कल्याणकारी विकास संस्थाकी अध्यक्ष जानुका ओलीको अध्यक्षतामा सम्पन्न शिविरको सञ्चालन उपाध्यक्ष पुष्पा भण्डारीले गरेकी थिइन् ।