बिर्तामोड । 

विश्वव्यापी महामारीका रुपमा फैलिइरहेको कोरोना भाइरसको नयाँ भेरियन्ट बिएफ सेभेन रोकथामका लागि जिल्ला कोभिड ब्यवस्थापन समिति (डिसीएमसी) झापाले स्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेको छ । 

छिमेकी देशहरुमा फैलिरहेको नयाँ भेरियन्ट खुल्ला सिमाना तथा मानिसहरुको आवत–जावतका कारणले नेपालमा पनि संक्रमणको जोखिम उच्च रहेकाले नियन्त्रण तथा रोकथामका लागि आम जनसमुदायलाई सजग तथा सचेत रहन डिसीएमसी झापाले आग्रह गरेको हो ।  

डिसीएमसी झापाको (हिजो) मंगलबार प्रमुख जिल्ला अधिकारी छबिलाल रिजालको संयोजकत्वमा बसेको बैठकले ११ वटा बिभिन्न निर्णय समेत गरेको छ । 

काँकडभिट्टा नाकाको हेल्थ डेक्सलाई पूर्णरुपमा सञ्चालनमा ल्याउने, नेपाली सेना लगायतको सहयोग र समन्वयमा होल्डिङ सेन्टर तयारी अवस्थामा राख्ने, प्रदेश नं १ को स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरसँग खोप माग गरी यथाशीघ्र वुस्टर मात्रा लगायतको खोप अभियान सञ्चालन गर्ने, विद्यालय, बढी भीडभाड हुने स्थल, सपिङ मल तथा हाटवजारमा अनिवार्यरुपमा माक्सको प्रयोग गर्ने,  अस्पतालमा जनशक्ति, स्वास्थ सामग्री, अक्सिजन शिलिण्डरको प्रयाप्त व्यवस्थापन गर्न सम्बन्धित निकायलाई अनुरोध गर्नेलगायत रहेका छन् । 

कार्यक्रममा प्रादेशिक अस्पताल झापाका मेडिकल सुपरिटेन्डेन टंकप्रसाद बाराकोटी, जिल्ला प्रशासन कार्यालय झापा सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपाल,  सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपाने, नयाँ श्रीनाथ गण चारआली प्रमुख सेनानी फणिन्द्र थापा, झापा प्रहरी उपरिक्षक दुर्गाराज रेग्मी, जिल्ला प्रहरी कार्यालय, झापा उप– अ. निर्देशक तिलक शर्मा प्रसाई, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय सशस्त्र प्रहरी नायव उपरीक्षक नवराज बोहोरा, स्वास्थ्य कार्यालय झापा ल्याव टेक्निसियन चन्द्रशेखर कुमार यदव, नेपाल रेडक्रस सोसाइटी, झापा सभापति लोकराज ढकाललगायतको उपस्थिति रहेको थियो ।