बिर्तामोड । 

मिस तामाङ फाउण्डेशन अर्गनाइजेनले ‘मिस तामाङ वल्र्ड २०२२’ का लागि तयारी शुरु गरेको छ । फाउण्डेशनले आइतवार (आज) बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी ‘मिस तामाङ वल्र्ड २०२२’ को तयारीका बारेमा जानकारी दिएको हो । 

फाउण्डेशनले ‘मिस तामाङ वल्र्ड २०२२’ फाइनल भारतको सिलीगुढीमा आगामी फेब्रवरी ११ तारिख गर्ने तयारी गरेको जनाएको छ । अर्गनाइजेनका अध्यक्ष मिलन मोक्तानको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा प्रदेश नं. १ का सांसद गोपाल तामाङ, रोङ गाउँपालिकाका अध्यक्ष सुवास तामाङ, ‘मिस तामाङ वल्र्ड २०२१’ (पहिलो सिजन) की बिजेता साङ डोमा तामाङलगायतले आ–आफ्नो भनाई प्रस्तुत गरेका थिए ।  

साङ डोमाले आफुले मिस तामाङ वल्र्ड भएपछि आफ्नो धर्मसंस्कृति, भाषा, भेषभूषा, पहिचानका लागि ‘एक घर एक डम्फू’ अभियान सञ्चालन गरिरहेको बताइन् । डम्फु र टुङनालाई विश्वभर चिनाउने उदेश्यले अभियानको शुरुवात गरेको उनले बताइन् ।  

फाउण्डेशनका महासचिव केवल तामाङले स्वागत गरेको कार्यक्रममा सिक्किम तामाङ बौद्धिष्ट एशोशिएसनका उपाध्यक्ष सुरेन्द्र मोक्तान, फाउण्डेशनका कोषाध्यक्ष अदिप तामाङलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी तीलक योञ्जनले गरेका थिए । कार्यक्रममा सांसद तामाङ, रोङ गाउँपालिकाका अध्यक्ष सुवासलगायतलाई मायाको चिनो समेत प्रदान गरिएको थियो । 

tam

विश्वका कुनैपनि देशका तामाङ युवतीहरुले सहभागीता जनाउन सक्ने मिस तामाङमा नेपाल, भारत, अस्टे«लिया, अमेरिका र जापनकाले सहभागीता जनाउने आयोजक संस्थाले जनाएको छ । मिस वल्र्डका लागि १६ बर्ष पूरा भएका, अविवाहित र कक्षा १२ पास गरेका युवतीहरु हुनुपर्नेछ । भारतको सिक्किम, सिलीगुडी र नेपालको काठमार्डौमा प्रत्यक्ष अडिशन हुने र अन्य स्थानमा भर्चुवल माध्यमबाट अडिशन गरिने अध्यक्ष मोक्तानले जानकारी दिए । अडिशनबाट छनौट भएका प्रतियोगीहरुलाई नेपालमा बिभिन्न स्थानमा २० दिन र भारतमा १० दिन तालिम दिइनेछ । 

अलग–अलग ७ वटा बिधामा छनौट हुने प्रतियोगितामा मिस तामाङ वल्र्डकी विजेताले नगद १० लाख रुपैयाँसहित गिफ्ट हेम्परहरु पाउने जनाइएको छ । प्रतियोगिताका लागि एक करोड ४ लाख अनुमानित खर्च हुने र ब्यापारी संघ, संस्था र तामाङको धर्मस्कृतिलाई माया गर्नेबाट आर्थिक संकलन हुने आयोजकले जनाएको छ ।