सुरुङ्गा । 

झापाको कनकाई २ र १ स्थित पूर्वकै लोकप्रीय पर्यटकीय क्षेत्र निर्माणाधिन जामुनखाडी प्राकृतिक रंगशालामा सञ्चालन भएको प्रथम  हर्क राई स्मृति नकआउट फुटबल प्रतियोगिताको उपाधि जलथल एफसी क्लबले हात पारेको छ ।

शनिवार सम्पन्न फाईनल खेलमा उपाधिका लागि एपिएफ पकली र जलथल एफसी विच प्रतिष्पर्धा भएको थियो । निर्धारित समय अवधि सम्ममा दुबैंतर्फबाट दोस्रो हाफमा १ ÷ १ गोलको बराबरी भएपछि खेलको अन्तिम निर्णय ट्राईब्रेकरबाट भएको थियो । ट्राईब्रेकरमा जलथलले ५ र एपीएफ पकलीले ४ गोल मात्र गर्न सफल भएपछि जलथल एफसीले उपाधी जितेको हो ।

उपाधि विजेताले नगद १ लाख ११ हजार रुपैयाँसहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरे । कार्यक्रमका प्रमुख अतिथि कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोख्रेलले विजेतालाई प्रथम पुरस्कार हस्तान्तरण गरे भने उपविजेता एपीएफलाई राई परिवारका सदस्य दिलिप राईबाट नगद ५५ हजारसहित ट्रफि, मेडल र प्रमाण पत्र हस्तान्तरण गरिएको थियो ।

जामुनखाडी पूर्वकैं फेवाताल जस्तैं उपमा पाएको पर्यटकीय क्षेत्र भएकाले यस प्रस्तावित रंगशाला र यसमा सञ्चालन भएको खेलले पर्यटकहरुलाई थप आकर्षण थपेको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोख्रेलले बताए । पर्यटकीय क्षेत्र जामुनखाडीमा प्राकृतिक खेल मैदानले नौलो आयाम थपेकोमा खुशी व्यक्त गर्दै नगर प्रमुख पोखरेलले यसको सर्वाङ्गीण विकासका लागि कनकाई नगरपालिकाले समेत सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए।

गत पौंष २ गते उद्घाटन भएको खेलमा झापा,मोरङ सुनसरीका ८ वटा टिमले सहभागीता जनाएका थिए ।