हल्दिबारी ।

 झापाको हल्दिबारी गाउँपालिकाले १५ शैय्याको ‘हल्दिबारी आधारभूत अस्पताल’ सञ्चालनमा ल्याएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आधारभूत अस्पतालको शुक्रवार (आज) एक कार्यक्रमका बीच उद्घाटनगरेका हुन् । हल्दिबारी गाउँपालिकाको हाताभित्र सञ्चालनमा आएको अस्पतालबाट बहिरंग सेवासहित १५ प्रकारका सेवा उपलब्ध हुने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाले जानकारी दिए ।

अस्पतालबाट स्वास्थ्य बीमा कार्यक्रम, आकस्मिक स्वास्थ्य सेवा, प्रयोगशाला, फार्मेसी, इसीजी, एकीकृत बालरोग तथा नवजात शिशु व्यवस्थापन, सुरक्षित मातृत्व, परिवार नियोजन लगायतका सेवा प्राप्त हुने प्रमुख निरौलाले बताए । स्वास्थ्य सेवा प्राप्त गर्न गाउँपालिकाबासी अन्यत्र धाउनुपर्ने अवस्था अन्त्य गर्न आधारभूत अस्पताल सञ्चालन ल्याइएको गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देनले बताए । 

स्वास्थ्य बीमा कार्यक्रमको प्रथम बिन्दुका रुपमा अस्पताल सञ्चालनमा आएको उनले बताए । अस्पतालमा एक जना मेडिकल अधिकृतसहित नौ जना जनशक्ति रहेका छन् । हल्दिबारीमा तीन वटा स्वास्थ्य चौकी र दुई वटा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा छन् ।

संघीय सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त बजेट अनुरुप हल्दिबारी–१ अस्पतालको भवन निर्माण भइरहेको छ । ३३ हजार गाउँपालिका बासीको स्वास्थ्य सेवामा पहुँच स्थापित गर्न १८ करोड रुपैयाँको लागतमा निर्माणाधीन अस्पताल भवनको करिब २५ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ । सोही अस्पताल अन्तरगत अस्थायी रुपमा हल्दिबारी गाउँपालिकाको स्रोत साधन प्रयोग गरी हल्दिबारी–५ स्थित हल्दिबारी गाउँपालिकको हाताभित्र ‘हल्दिबारी आधारभूत अस्पताल’ सञ्चालनमा आएको हो ।

कार्यक्रममा प्रमुख अतिथि राप्रपा अध्यक्ष एवम् झापा क्षेत्र नं. ३ का सांसद राजेन्द्र लिङ्देन, प्रदेश सभा (२) का प्रदेशसभा सदस्य छविलाल चुँडाल, गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देन, नेकपा एमाले हल्दिबारी गाउँ कमिटी अध्यक्ष त्रिलोचन सापकोटा, वडा नं. ३ वडाध्यक्ष बिष्णुप्रसाद ओलीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।