भद्रपुर । 

‘भद्रपुर झापा गोल्ड कप’ अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताका लागि  मेची रंगशालामा स्तरोन्नति कार्य शुरु भएको छ । प्रतियोगिता फागुन अन्तिम साता हुने जनाइएको छ । 

अखिल नेपाल फुटबल संघ (एन्फा) सँगको छलफलपछि प्रतियोगिताको मिति तय हुने आज भद्रपुरमा पत्रकार सम्मेलन गरी जानकारी दिदै आयोजकले रंगशालाको स्तरोन्नति कार्य शुरु गरेको जनाएको हो । अत्यन्त जीर्ण अवस्थामा रहेको झापाकै पुरानो र स्थायी सो रंगशालामा झार रोप्ने र माटोको लेभल मिलाउने काम भइरहेको महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

 १८ वर्षअघि आयोजना भएको ‘त्रिभुवन मेमोरियल गोल्डकप’ पछि फुटबलका ठूला र प्रतिष्ठित खेलहरु आयोजना हुन नसक्दा मेची रंगशालाको खेल मैदान र थप पूर्वाधारलाई व्यवस्थति गर्न सकिएको थिएन ।

प्रतियोगितामा नेपालका ‘ए’ डिभिजन क्लबहरुसहित १० टिमको सहभागिता रहनेछ । प्रतियोगिताका विजेताले नगद १३ लाख र उपविजेता टिमले नगद ७ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक समितिका अध्यक्ष दिपेश ढकालले जानकारी दिए ।

भद्रपुर नगरपालिकाले गोल्डकपका लागि ३० लाख रुपैयाँ बजेट छुट्याइएको नगरप्रमुख गणेश पोखरेलले जानकारी दिए ।प्रतियोगिताका सबै खेलमा विशेष परिस्थितिका नागरिक, भद्रपुर नगरभित्रका सरकारी विद्यालयका विद्यार्थी, नगरभित्रका ज्येष्ठ नागरिक तथा फरक क्षमता भएका नागरिकलाई प्रवेश निःशुल्क गरिएको जनाइएको छ । 

कुल १ करोड ५० लाख रुपैयाँ खर्च अनुमान गरिएको प्रतियोगिताका लागि बाँकी स्पोन्सरबाट संकलन गरिने भएको छ । पत्रकार सम्मेलनमा वरिष्ठ उपाध्यक्ष आदित्य पराजुली, उपाध्यक्ष गौरब सुब्बा, डिल्लीराम घिमिरे, सचिव योगेन्द्र पौडेल, सह–कोषाध्यक्ष अजय साहेवाला, सल्लाहकार टीकाराज ढकाल, प्रशान्त भण्डारीलगायतको उपस्थिति रहेको थियो ।