भद्रपुर । 

भद्रपुर झापा गोल्ड कप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता यही फागुन अन्तिम सातादेखि हुने भएको छ ।अखिल नेपाल फुटबल संघ (एन्फा) सँगको छलफलपछि प्रतियोगिताको मिति तय हुने बिहीवार (आज) भद्रपुरमा पत्रकार सम्मेलनमा आयोजकले जानकारी दिएको छ ।

प्रतियोगिताका विजेताले नगद १३ लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेता टिमले नगद ७ लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक समितिका अध्यक्ष दिपेश ढकालले जानकारी दिए । प्रतियोगिताका लागि मेची रंगशालाको स्तरोन्नति सुरु भइसकेको महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिए । अत्यन्त जीर्ण अवस्थामा रहेको झापाकै पुरानो र स्थायी सो रंगशालामा झार रोप्ने र माटोको लेभल मिलाउने काम भइरहेको छ ।

झापा फुटबलको उर्वर भूमि हो भने सदरमुकाम भद्रपुर राष्ट्रिय–अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने थलो हो । जिल्लाको सबैभन्दा पुरानो र व्यवस्थित मेची रंगशाला देशका चर्चित र सफल खेलाडीहरुको प्रारम्भिक खेल मैदान हो । १८ वर्षअघि आयोजना भएको ‘त्रिभुवन मेमोरियल गोल्डकप’ पछि फुटबलका ठूला र प्रतिष्ठित खेलहरु आयोजना हुन नसक्दा मेची रंगशालाको खेल मैदान र थप पूर्वाधारलाई व्यवस्थति गर्न सकिएको थिएन ।

‘यो प्रतियोगिता झापाको प्रतिष्ठित ‘झापा गोल्डकप’ कै निरन्तरताको एउटा कडी भएको पनि जानकारी गराउन चाहन्छौँ’, अध्यक्ष ढकालले भने । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आयोजना हुँदै आएको ‘झापा गोल्डकप’लाई यस वर्ष रोकेर मेची रंगशालामा ‘भद्रपुर झापा गोल्डकप’ आयोजना गर्न लागिएको हो ।

प्रतियोगितामा नेपालका ‘ए’ डिभिजन क्लबहरुसहित विदेशी टोलीको सहभागिता रहने वरिष्ठ उपाध्यक्ष तथा टिम व्यवस्थापन तथा छनोट उपसमिति संयोजक आदित्य पराजुलीले जानकारी दिए । प्रतियोगितामा १० टिमको सहभागिता रहनेछ । खेल सञ्चालनका लागि भद्रपुर नगरपालिकाले चालु आर्थिक वर्षमा गोल्डकपका लागि ३० लाख रुपैयाँ बजेट छुट्याइएको नगरप्रमुख गणेश पोखरेलले जानकारी दिए ।

कुल १ करोड ५० लाख रुपैयाँ खर्च अनुमान गरिएको प्रतियोगिताका लागि बाँकी रकम व्यापारिक प्रतिष्ठनबाट स्पोन्सरका रुपमा संकलन गरिने सह–कोषाध्यक्ष अजय साहेवालाले जानकारी दिए । प्रतियोगिताका उत्कृष्ट गोलकिप्पर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फवार्ड र उत्कृष्ट प्रशिक्षकलाई २५ हजार तथा प्रत्येक खेलको म्यान अफ द म्याच खेलाडीलाई नगद १० हजार पुरस्कार प्रदान गरिनेछ ।

प्रतियोगिताका सबै खेलमा विशेष परिस्थितिका नागरिकलाई प्रवेश निःशुल्क गरिने अध्यक्ष ढकालले बताए । भद्रपुर नगरभित्रका सरकारी विद्यालयका विद्यार्थी, नगरभित्रका ज्येष्ठ नागरिक तथा फरक क्षमता भएका नागरिकलाई प्रवेश निःशुल्क गरिएको जनाइएको छ ।