झापा । 

 नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २९ औं साधारणसभा तथा निर्वाचन स्थगित भएको छ । संघको निर्वाचन समितिले सोमबारदेखि निर्वाचन कार्यक्रम प्रकाशित गरी पुस ८ गते नै निर्वाचन गर्ने तयारी गरेको थियो । तर मंगलबार दिउँसो संघले अर्को सूचना नभएसम्म निर्वाचनका कार्यक्रम स्थगित गर्न पत्र पठाएपछि सबै प्रक्रिया रोकिएको निर्वाचन समितिले जनाएको हो । 

 नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसन र प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल लगायतले संघको निर्वाचनमा आम व्यवसायीको उचित प्रतिनिधित्व हुन नसकेको भन्दै केही समयका लागि संघको साधारण सभा र निर्वाचन सार्नुपर्ने माग गरेका थिए । 

 संघले निर्वाचन समितिलाई पठाएको पत्रमा संघमा ८७६ सदस्य संस्था रहेकोमा साधारणसभा र निर्वाचनमा भाग लिन मंसिर मसान्तसम्म ३८९ सदस्य संस्थाले मात्रै प्रतिनिधि चयन गरी पठाएको र उक्त संख्या संघ सदस्य संख्याको तुलनामा निकै कम भई संघको साधारण सभा बस्न ५१ प्रतिशत सदस्य उपस्थित हुनुपर्ने संघको विधानको दफा १६ (क) को व्यवस्था पालना हुनसक्ने अवस्था नभएकोले साधारणसभा रोक्नु परेको उल्लेख गरेको छ । 

संघले साधारणसभा र निर्वाचनको नयाँ मितिका विषयमा राजनीतिक दल निकट संघसंस्था, जातीय तथा भेगीय संस्थाका प्रतिनिधिहरुसंग पुनः छलफल गरी तोकिने र त्यसका लागि बिहीबार सर्वपक्षीय बैठक बस्ने तयारी भएको बुझिएको छ ।