झापा । 

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको पुस ८ गते हुने निर्वाचनका लागि उम्मेद्वारी दिने ब्यवसायीको संख्या बढेको छ । व्यवसायीहरुले केही समयका लागि संघको साधारणसभा र निर्वाचन सार्नुपर्ने माग गरेपनि निर्वाचन समितिले सोमबारदेखि निर्वाचन कार्यक्रम प्रकाशित गरी पुस ८ गते नै निर्वाचन गर्ने तयारी गरेपछि उम्मेद्वारका आकांक्षि बढेका हुन् । निर्वाचन समितिले मंगलबार(आज) सूची नामावलीका रुपमा सार्वजनिक गर्ने जनाइएको छ । 

संघको आगामी निर्वाचनका लागि एशोसिएसनको तर्फबाट एशोसिएन अध्यक्ष कुमुद खनाल, निवर्तमान प्रथम उपाध्यक्ष कमलदेव मल्ल, पूर्व द्वितीय उपाध्यक्ष भुवनसिं गुरुङ, निवर्तमान महासचिव सुजितकुमार श्रेष्ठले आ–आफ्नो पक्षमा लविङ गरिरहेका छन् । अध्यक्ष टुंगो लागेपछि अध्यक्षका आकांक्षीहरुलाई व्यवस्थापन गर्दै अन्य पदमा उम्मेदवार बनाउने सोच बनेको बताइएको छ । 

एशोसिएसनका तर्फबाट किशोर केसीले प्रथम उपाध्यक्ष, भवानी निरौला र  मेघनाथ भुर्तेलले  महासचिव र सचिवमा कर्ण कटुवाल लगायतले दाबी गरिरहेको बताइएको छ । केही व्यवसायीले  निर्वाचन हुने सुनिश्चित भएपछि मात्रै उम्मेदवारी दिने योजनामा रहेको बुझिएको छ ।  

वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चका महासचिव कुन्छा दोर्जी दिमदोङले विगतमा पनि एक खालको गठबन्धनको स्वरुप तयार गरिएको र सम्मानजनक प्रतिनिधित्वको आधारमा सोही गठबन्धन चुनावमा जानुपर्ने बताएका छन् । एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठन नेपालले गठबन्धनको अवधारणासहित उम्मेदवार प्रस्ताव गरेको छ । संघमा ८ सय ७७ व्यवसायी आवद्ध रहेका छन् ।