झापा । 

 नेपाल वैदेशिक रोजगार व्यवसायी संघको साधारणसभा र निर्वाचन गर्नुपर्ने मिति सार्न माग गरिएको छ । आगामी पुस ८ गते तय भएको संघको साधारणसभा र नयाँ कार्यसमितिको निर्वाचनको तयारी  गरिरहेको बेला  प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालले पुस महिनाको अन्त्यतिर सार्न माग गरेको हो ।  मञ्चले निर्वाचनको एक हप्ता अघिसम्म पनि मतदाता नामावली सार्वजनिक नभएको भन्दै साधारणसभा र निर्वाचन सार्नुपर्ने माग गरेको हो ।

 साधारणसभा र निर्वाचनमा सम्पूर्ण व्यवसायीलाई सहभागी गराउनु पनि अनिवार्य रहेको तर शनिबारसम्मको अवस्थाले विधि र पद्धतिसंगत नदेखिएकाले  साधारणसभा र निर्वाचनको अर्को मिति तोक्नु उचित हुने निष्कर्षमा मञ्च पुगेको जनाइएको छ ।  यसैबीच नेपाल वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चले अधिकांश व्यवसायी व्यापार व्यवसायका कारणले राजधानी बाहिर रहेकाले संघको निर्वाचनका लागि प्रतिनिधि पठाउने अवधि शुक्रबारदेखि ५ दिन थप गर्नुपर्ने माग गरेको छ । मञ्चका अध्यक्ष धनलाल जैसीले शुक्रबार संघका संयोजकलाई पत्र लेख्दै उक्त माग गरेका हुन् । मञ्चले प्रतिनिधि पठाउने समय माग गरेपनि साधारणसभा सार्ने विषयमा भने केही उल्लेख गरेको छैन । 

यसैबीच संघले आगामी साधारणसभा र निर्वाचनको विषयमा छलफल गर्न संघलाई छाता संस्था मान्ने राजनीतिक, जातीय तथा भेगीय संस्थासँग आइतबार छलफल गर्ने तयारी गरिरहेको बताइएको छ ।  कतिपय व्यवसायीले संघीय सरकार गठन भएपछि गठबन्धनका दलहरूको अवस्था र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नेतृत्व लगायतका विषयलाई ध्यान दिएर संघको नेतृत्व चयन गरिनुपर्ने भन्दै सरकार गठन नहुँदासम्म वर्तमान अवस्थामा निर्वाचन गर्नु असान्दर्भिक हुने टिप्पणीसमेत गर्दै आएका छन् ।