बिर्तामोड । 

झापाको मेचीनगर–६ की ७३ बर्षिया मैयादेवी कार्की बिर्तामोडस्थित पूर्णटुङ्ग बिर्तासिटी अस्पतालमा उपचारत रहेकी छिन् । ४१ दिनअघि बिर्तासिटी अस्पताल भर्ना भएकी उनी अर्धचेत अवस्था रहेकी मैयाका छोरा राजकुमारले बताए । चिकित्सकहरुले उनको परीक्षणपछि टाउकोमा रगत जमेका कारण तत्काल शल्यक्रिया गर्नुपर्ने बताएपनि उमेरका कारण शल्यक्रिया गर्न कठिन थियो । 

तर, छोरा राजकुमार कार्कीको आग्रह अनुसार न्यूरो सर्जन डा. चन्द्रप्रकाश लिम्बू र डा. दिग्गज श्रेष्ठसहितको टिमले उनको शल्यक्रिया गर्न तयार भएका थिए । मैयाको ब्रेनट्युमरको शल्यक्रिया भएपछि अहिले स्वास्थ्यमा क्रमशः सुधार हुँदै गएको डा. लिम्बूले बताएका छन् । छोरा कार्कीले जोखिम मोलेरै आमाको उपचारका लागि डाक्टरलाई अनुरोध गरेको बताएका छन् । ‘हाम्रो अनुरोध अनुसार आमाको टाउकाको अप्रेशन भयो’ छोरा कार्कीले भने ‘अहिले आमाको स्वास्थ्यमा धेरै सुधार भएको छ ।’ माया मारिसकेकी आमाले बोल्न सक्ने भएपछि उपचारमा संलग्न अस्पतालमा कार्यरत डाक्टर र नर्सहरु भगवान सरह नै भएको उनले बताए ।

डाक्टरको विश्वास नलागेर आमाको रिपोर्ट लिएर भारतको शिलगढीस्थित डा. शिद्धिराज शर्मासम्म पुगेर परामर्श लिदा डा. शर्माले आमाको रोग निको पार्न असम्भव भन्दै आमालाई घर फर्काउने सल्लाह दिएको उनले बताए । बिर्तासिटीले गर्ने उपचार बाहेकको विकल्प आफुसँग नभएका कारण डाक्टरलाई भनेर आमाको उपचारका लागि अनुरोध गरेको उनले बताए ।  २८ दिनका दिन आमा बोल्न सक्ने भएपछि कार्की परिवार अहिले डाक्टर र अस्पतालप्रति खुसी भएको छ । ‘कोमामा पुग्नु भएकी मेरी आमालाई जीवन दिने डाक्टर सीपीको टिम अनि यो अस्पतालप्रति म सँधै ऋणी हुनेछु’ राजकुमारले भने ।

‘ब्रेनको नशा नै ब्लक भएको रहेछ, योभन्दा क्रिटिकल अवस्था कस्तो हुन्छ ? उनले भने ।  सरल र शुलभ रुपमै आमाको उपचार नेपालमै गर्न पाएकोमा उनी खुसी मात्र थिएनन् ।  आमाको उपचार शिलगढीमा गरेको भए सम्पत्ति सकिने आमालाई पनि बचाउन नसकिने अवस्था भएको बताउँदै खुसी ब्यक्त गरेका थिए । 

नेपालमा अस्पतालले दिने सेवा प्रति खासै विश्वास नभएको बताउँदै छोरा कार्कीले भने ‘तर, मेरो सोचाई गलत रहेछ ।’ आफ्नै देशमा यतिका राम्रा डाक्टर र अस्पतालको सेवा पाइने भए अर्को देशमा उपचारका लागि नजान पनि उनले सबैमा आग्रह गरे ।  माया मारेएकी बिरामी आमालाई निको पार्न सफल बिर्तासिटी अस्पताल अस्पताल हैन उनका लागि मन्दिर भएको बताए ।