हल्दिबारी । 

झापाको हल्दिबारी गाउँपालिका–२ को हल्दिबारी नमूना माध्यमिक विद्यालयले शुक्रवार (आज) देखि स्वर्ण महोत्सव मनाउने भएको छ । विद्यालय स्थापनाको ५० वर्ष पूरा भएको अवसर पारेर साताव्यापी महोत्सव आयोजना गरेको हो । 

२०२९ साल पुस १ गते हल्दिबारी निम्न माबिका नाममा स्थापित विद्यालयले आज पुस १ गतेदेखि स्वर्ण महोत्सव मनाउन ९९ सदस्यीय मूल समारोह समिति तथा विभिन्न १९ वटा उपसमिति गठन गरिएक छ ।

महोत्सवअन्तर्गत सांस्कृतिक कार्यक्रम, सम्मान, स्मारिका विमोचन, पुरस्कार वितरण र विद्यालय परिसरमा नवनिर्मित जग्गादाता माझीलाल राजवंशीको प्रतिमा तथा स्वर्ण महोत्सव स्तम्भ अनावरण कार्यक्रम रहेको छ । 

त्यसैगरी, दोस्रो दिन मुटु रोग सम्बन्धी स्वास्थ्य परीक्षण र निःशुल्क औषधि वितरणका साथै रक्तदान कार्यक्रम; तेस्रो दिन अन्तर–सदनात्मक खेलकुद प्रतियोगिता हुनेछ भने चौथो दिन अन्तर मावि हाजिरी–जवाफ प्रतियोगिता र ५ हजार रुपैयाँसम्म प्रदान गर्ने दातालाई सम्मान गर्ने कार्यक्रम रहेको बताइएको छ । 

साथै, पाँचौं दिन अन्तर मावि. नृत्य प्रतियोगिता र ५ हजार १ देखि १० हजार रुपैयाँसम्मका दातालाई सम्मान, छैठौं दिन अभिभावकवर्गको खेलकुद र १० हजार १ देखि २५ हजार रुपैयाँसम्मका दातालाई सम्मान र समापनका दिन ७ गते पूर्व प्रधानाध्यापकहरु., पूर्व अभिभावक, व्यवस्थापन समितिका पूर्वअध्यक्ष लगायतलाई सम्मानका साथै जेहेन्दार विद्यार्थीलाई ५ हजार रुपैयाँ प्रदान गरेर प्रोत्साहन गरिने र बृहत् सांस्कृतिक उत्सव हुने विद्यालयले जनाएको छ ।  

कक्षा– १ देखि १२ सम्म नेपाली र अंग्रेजी दुबै माध्यमबाट पढाइ हुने हल्दिबारी माध्यमिक विद्यालयमा हाल एक हजार तीनसय २० जना विद्यार्थी अध्ययनरत छन् भने शिक्षक एवम् कर्मचारीसमेत गरी ५३ जना सेवारत रहेका जनाइएको छ ।  

महोत्सवको कूल बजेट २४ लाख रुपैयाँ अनुमान गरिएको छ । समितिले आर्थिक रूपमा गरेको सहयोगका साथै घर–दैलो समेतबाट हालसम्म २० लाख रुपैयाँ संकलन भइसकेको र हल्दिबारी गाउँपालिकाले ३ लाख र २ नं वडा कार्यालयले १ लाख रुपैयाँ प्रदान गरेको बताइएको छ ।