बिर्तामोड । 

नेपालको टेलिभिजन रियालिटी शो ‘भ्वाइस अफ नेपाल’ सिजन ४ को टप ८ मा परेका झापा बिर्तामोड–४ का योगेश मगरलाई जिताउन अभियान शुरु भएको छ । 

बिर्तामोड तथा झापाका बिभिन्न संघ संस्थाले मगरलाईलाई जिताउन योगेश मगर जिताऔं अभियान शुरु गरेका हुन् । नेपाल मगर बिद्यार्थी संघ झापा, युनाइटेड क्लब बिर्तामोड लगायतका संघ, संस्था तथा क्लबहरुले संयुक्त रुपमा अभियान शुरु गरेका हुन् । अभियानले बुधवार (आज) बिर्तामोडमा पत्रकार भेटघाटको आयोजना गर्दै अभियानका बिषयमा जानकारी दिएको हो । 

मगर हिमालयन टेलिभिजनबाट प्रत्येक शुक्रवार र शनिवार बेलुका ८ बजे प्रशारण हुँदै आएको रियालिटी शो भ्वाइस अफ नेपालको टप ८ मा पर्न सफल भएका छन् । अभियानले टप ८ बाट टप ४ मा पार्दै फाइनल जिताउन अभियान शुरु गरेको अभियानका संयोजक प्रभास थापा मगरले जानकारी दिए । 

मगरलाई भोट गर्न खल्ति एप डाउनलोड गरी भ्वाइस अफ नेपाल सिजन ४ प्रमोद खरेलको टिममा गएर भोटिङ गर्न सकिने जनाइएको छ । भोटिङको समय शुक्रवार बेलुका ८ बजेसम्म मात्र रहने जनाइएको छ । 

पत्रकार भेटघाट कार्यक्रममा अभियानका सदस्य राज मुखिया, खुम खड्का, युनाइटेड क्लब बिर्तामोडका अध्यक्ष तथा अभियानका सदस्य साङ्गे दोर्जे शेर्पा, अभियानका सदस्य विश्वास कार्कीलगायतको उपस्थिति रहेको थियो । मगरलाई जिताउन स्थानीय कलाकार लिएर जिल्लाका बिभिन्न स्थानमा सांगेतिक कार्यक्रम गरी आर्थिक संकलन गरिने अभियानले जनाएको छ । 

झापाबाट भ्याइस अफ नेपालको टप ८ मा मगरसहित हल्दिबारीस्थित गोलधापकी सबिना योङहाङ पनि परेकी छिन् ।