बिर्तामोड ।
झापाको बिर्तामोड–४ मा रहेको शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाले बिर्तामोड–१ देवी पञ्चकन्यास्थित शिवमन्दिर पश्चिम सुबिधा सम्पन्न तथा गुणस्तरीय मन्टेश्वरी बिद्यालय सञ्चालनमा ल्याएको छ । संस्थाले दुई बर्षअघि सञ्चालनमा ल्याएको शिक्षा शिकोप निकेतनले आफ्नै सुविधा सम्पन्न भवनबाट पठनपाठन शुरु गरेको हो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले सामुदायिक, निजी, गुठी र सहकारी बिद्यालयको परिकल्पना गरेको छ ।
१० वर्षअघि संस्था स्थापना हुँदाको उद्देश्य र ऐनको परिकल्पना अनुरुप झापामा सहकारी अवधारणामा आधारित पहिलो बिद्यालय शिक्षा शिकोप निकेतन भएको शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष सुब्रत न्यौपानेले बताए । ‘सहकारी संस्थाको व्यवस्थापनमा झापामा अरु पनि विद्यालय सञ्चालनमा छन्’ अध्यक्ष न्यौपानेले भने, ‘तर,सहकारी अवधारणा अनुरुप सञ्चालित हाम्रो विद्यालय पहिलो हो ।’ चारकठ्ठा क्षेत्रफलमा फैलिएको बिद्यालयमा पर्याप्त खेल मैदान छ । बिद्यालयमा बालबालिकाका लागि फराकिला तथा आकर्षक कक्षा कोठा छन् । तालिम प्राप्त दक्ष जनशक्तिको व्यवस्थापन मण्टेश्वरीमा छ । मण्टेश्वरीको आफ्नै गाडीले बालबालिकालाई ल्याउने लैजाने गर्छ ।
सहकारी विद्यालय सञ्चालनको अवधारणासहित शिक्षा बहुउद्देश्यीयले बिर्तामोड–२ मा आफ्नै १० कठ्ठा जग्गा किनेको थियो । उक्त जग्गामा आगामी वर्षहरुमा माथिल्लो तहका कक्षा सञ्चालन गर्ने गरी पूर्वाधार बनाउने संस्थाको दीर्घकालिन लक्ष्य र योजना छ ।विद्यालयमा बालबालिका लागि पर्याप्त खेल सामग्री उपलब्ध हुनुका साथै मन्टेश्वरी ल्याव पनि छ । बालबालिकाको मनोविज्ञानलाई बुझेर मण्टेश्वरी विधिमार्फत उनीहरुलाई सिकाई क्रियाकलापमा सहभागी गराउँदै आएको शिक्षा शिकोप निकेतनकी प्रिन्सिपल रेश्मा घिमिरेले बताइन् ।
विद्यालय स्थापनाको छोटो अवधिमा शिक्षा शिकोप निकेतन मण्टेश्वरीले लोकप्रियता हासिल गरेको छ । खेल्दै सिक्दै बालबालिकाले आफूलाई सहज महसुस गर्न सक्छन् । मण्टेश्वरीमा डे बोडर्सको पनि व्यवस्था छ । व्यस्त दैनिकी भएका अभिभावकले बिहान नौ बजेदेखि साँझ ५ बजेसम्म डे बोडर्सको सुविधा प्राप्त गर्ने प्रिन्सिपल घिमिरेले बताइन् ।
मण्टेश्वरीमा भर्ना भएका बालबालिकालाई दिनमा दुई पटक पोषिलो र गुणस्तरीय खाना खुवाउने गरिएको छ । मण्टेश्वरीले बालबालिकालाई अनिवार्य रुपमा दैनिक दूध खुवाउने गर्छ । यसबाहेक बालबालिकाको रुचि अनुसारका खानाको व्यवस्था मण्टेश्वरीले गर्दै आएको छ । डे बोडर्स गरिएका बालबालिकालाई तीनपटक खुवाउने व्यवस्था गरिएको छ ।
विद्यालयमा आउने कतिपय बालबालिका निदाउँछन् । उनीहरुका लागि छुट्टै आराम कक्षको व्यवस्था गरिएको छ । अधिकतम् सुविधा भए पनि न्युनतम् मासिक शुल्क लिएर मण्टेश्वरी सञ्चालन गरिएको प्रिन्सिपल घिमिरेले बताइन् । बिद्यालयको किचन अभिभावक आफैँँले हेर्न सक्छन् । ‘कस्तो किचनमा बनाएर खुवाउँछन्, सरसफाई छ कि छैन् भनेर अभिभावकले कुनै आशंका गर्नु पर्दैन’, प्रिन्सिपल घिमिरेले भनिन, ‘उहाँहरु आफैँ आएर हेर्न सक्नुहुन्छ ।’ शौचालय, धारा, कक्षाकोठा किचन, विद्यालयका फर्निचर सबै बालमैत्री छन् ।
मण्टेश्वरीमा हाल ६० जना बिद्यार्थी पढिरहेका छन् । बिद्यालयमा शिक्षक तथा कर्मचारी गरेर १० जनाले प्रत्यक्ष रोजगारीसमेत पाएका छन् । मण्टेश्वरीले नृत्य कक्षा पनि सञ्चालन गर्दै आएको छ । विस्तारै अतिरिक्त शिक्षण क्रियाकलापका कक्षाहरु सञ्चालन हुने प्रिन्सिपल घिमिरेले बताइन् । मण्टेश्वरीमा मासिक नियमित बालबालिकाको स्वास्थ्य जाँच हुन्छ । बेला बेलामा बालबालिकाको आँखा पनि जाँच गर्ने गरिएको छ । दुई महिना अघि मात्रै विद्यालयले दृष्टि आँखा अस्पतालसँगको सहकार्यमा बालबालिकाको आँखा परीक्षण गरेको थियो । मण्टेश्वरीले बालबालिकालाई पायक पर्ने र कम जोखिम भएका स्थानमा अवलोकन भ्रमणमा पनि लैजाने गरेको छ ।