झापा । 

वैदेशिक रोजगार विभागले एक कन्सल्टेन्सीमा छापा मारी ८३ वटा राहदानी जफत गरेकोे छ । विभागले शुक्रबार डिल्लीबजारमा रहेकोे सूर्य कर्पोरेशन प्रालिमा छापा मारेको हो । छापा मारेको शैक्षिक कन्सल्टेन्सीबाट ८३ वटा राहदानी बरामद गरेको हो । 

सो कन्सल्टेन्सीले युवायुवतीहरूलाई वैदेशिक रोजगारमा अमेरिका, क्यानडा र जापान लगायतका देशमा पठाउने प्रलोभनमा पारेर राहदानी संकलन गरेकोे विभागले जनाएको छ ।  त्यसैगरी विभागले सो कन्सल्टेन्सीका ६ जना कर्मचारीलाई पक्राउ गरी प्रहरीको जिम्मा लगाउँदै थप अनुसन्धान गर्ने बताएको छ । कन्सल्टेन्सी सञ्चालक भने फरार रहेकोे बताइएको छ ।

 विभागले उक्त कन्सल्टेन्सीका सञ्चालकले आकर्षक तलब सुविधामा अमेरिकादेखि जापानी मुलुकमा पठाइदिने भन्दै कतिपय युवायुवतीको राहदानी विगत ती वर्षदेखि कब्जामा राखेर झुलाएकोसमेत पाइएको बताएको छ । पीडितहरूको उजुरीपछि शुक्रबार दिउँसो विभागको टोली आकस्मिकरूपमा उक्त कन्सल्टेन्सीमा छापा मार्न गएको थियो । 

विभागले राहदानीका साथमा ठगीको अपराध पुष्टिका लागि सहयोगी हुने अन्य महत्वपूर्ण कागजातसमेत बरामद गरिएको बताएको छ । कन्सल्टेन्सी सञ्चालक र पक्राउ परेका कर्मचारीहरूलाई वैदेशिक रोजगार ऐन २०६४ को कुन दफा अन्तर्गत मुद्दा चलाउने भन्ने विषय अनुसन्धान पछि मात्रै टुँगो लाग्ने विभागले जनाएको छ ।