झापा ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघले पूर्व नवनिर्वाचित सांसद एलपी साँवा लिम्बु र कृष्णकुमार श्रेष्ठ (किसान) लाई सम्मान गरेको छ । पूर्व ब्यवसायी समेत रहेका नव निर्वाचित प्रतिनिधि सभाका सदस्यहरुलाई संघले सम्मान गरेको हो ।
संघका संयोजक विमल ढकालको अध्यक्षतामा मंगलबार राजधानीमा संघका संयोजक, पूर्व अध्यक्ष, संघको तदर्थ कार्यसमिति सदस्य तथा अग्रज वैदेशिक रोजगार व्यवसायीहरुले सम्मान गरेका हुन् । नवनिर्वाचित सांसदले वैदेशिक रोजगार क्षेत्रलाई व्यवस्थित, मर्यादित र पारदर्शी बनाउन नीति निर्माण तहमा आवश्यक पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।
संघका पूर्वअध्यक्ष समेत रहेका सांसद लिम्बूले वैदेशिक रोजगार क्षेत्रले युवा बेरोजगारीको अल्पकालीन भएपनि अन्त्य गरी देशको अर्थतन्त्रलाई चलायमान बनाउने महत्वपूर्ण भूमिका खेलेको बताउँदै वैदेशिक रोजगार व्यवसाय र व्यवसायीहरुको समस्या र सुधारका बारेमा संसदमा आवश्यक आवाज उठाउने बताएका छन् ।
पूर्वमन्त्री तथा अर्का नवनिर्वाचित सांसद श्रेष्ठले आफूले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको हैसियतले काम गरिसकेको हुँदा समस्या र समाधानका विषयमा पर्याप्त जानकारी हासिल गरेकोले संसदमा सोही अनुसारको भूमिका खेल्ने आश्वासन दिएका छन् ।
संघका पूर्व अध्यक्षसमेत रहेका लिम्बू झापा निर्वाचन क्षेत्र नं ४ बाट दोस्रो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् भने तनहुँ निर्वाचन क्षेत्र नं १ परिवर्तन गरी बारा जिल्लाको क्षेत्र नं ४ बाट उम्मेदवार बनेका श्रेष्ठ पनि दोस्रो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।