बिर्तामोड । 

बिर्तामोड युनाइटेड फुटवल क्लबको आयोजनामा झापामा ‘एनी बिर्तामोड युनाइटेड इन्डो नेपाल च्यालेन्च कप २०७९’ हुने भएको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा क्लबले पहिलो पटक आयोजना गर्न लागेको फुटवल प्रतियोगिता मंसिर २१ देखि २८ गतेसम्म हुने शनिवार पत्रकार भेटघाट गरी जानकारी गराइएको हो । 

प्रतियोगितामा भारतसहित नेपालका आठ वटा टिमको सहभागीता रहने आयोजकले जनाएको छ । प्रतियोगितामा सुनाकोठी सिटी एफसी काठमाडौं, जक्शन स्टार भारत, बिर्तामोड युनाइटेड एफसी झापा, पञ्चायन एफसी सुनसरी, डाँगीहाट एफसी मोरङ, रेडहोर्र्स एफसी इलाम, धरान सिटी एफसी सुनसरी र एपिएफ पकली गरेर आठ वटा टिको सहभागीता रहने बिर्तामोड युनाइटेडका अध्यक्ष भूपेन लिम्बुले जानकारी दिए । 

प्रतियोगिताको बिजेता टिमले नगद २ लाख २२ हजार २२२ रुपैयाँ र उपबिजेता हुने टिमले १ लाख ११ हजार १११ रुपैयाँ नगद पुरस्कारसहित ट्रफि प्रदान गरिने आयोजक संस्थाका सचिव सन्तोष राईले बताए । विभिन्न विधाका विजेताले जनही नगद ५ हजार पाउँने र उत्कृष्ट खेलाडी र उदीयमान खेलाडीले पनि १५ हजार पाउने आयोजकले जनाएको छ । 

प्रतियोगिता सम्पन्न गर्न २० लाख रुपैयाँ अनुमानित खर्च हुने आयोजकले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न विदेशमा रहेका पूर्व खेलाडी तथा शुभेच्छुकहरुको ७० प्रतिशत र स्थानीय स्तरबाट ३० प्रतिशत रकम जुटाइने जनाइएको छ । 

प्रतियोगितालाई झापाली ब्राण्ड एनी स्पोर्टस्ले प्रायोजन गरेको छ । एनी स्पोर्टस्ले प्रथम पुरस्कार प्रदान गर्ने एनीका सञ्चालक सन्तोष थोप्राले जानकारी दिएका छन् । अध्यक्ष लिम्बुको अध्यक्षतामा भएको कार्यक्रममा झापा जिल्ला फूटवल संघका अध्यक्ष भगिरथ आलेमगर (मामा) को प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा बिर्तामोड युनाइटेडका उपाध्यक्ष रमेश गुरुङ, सह–कोषाध्यक्ष योगेश गुरुङ, सदस्य गोपाल राई, सुमेरु थापा, बिशाल बस्नेत, निकेश यादव, रोशन गुरुङ, रिजन गुरुङलगायतको उपस्थिति रहेको थियो । 

anny